भरतपुरका छ स्थानमा ‘ट्राफिक लाइट’ राखिने
चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका छ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ ।
शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ ।
शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्नेगरी काम अघि बढेको उनको भनाइ छ।
भरतपुरमा मात्र रु एक करोड ५० लाख हाराहारी खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच–पाँच स्थानमा लाइट जडान गरेको थियो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिलागरी काम हुन लागेको उनको भनाइ छ ।
सडक विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनले बताइन् । “सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो,” उनले भनिन् ।
यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौँमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया