मनाङको दुःख– एउटै एम्बुलेन्स छैन, बिरामी र पर्यटकको उद्धार कसरी गर्नु ?
एम्बुलेन्स पठाइदिन स्वास्थ्य मन्त्रालयसँग प्रजिअको याचना

लेखनाथ । मनाङ जिल्लामा अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको पाइएको छ । एम्बुलेन्स नहुँदा बिरामीको उद्धारमा सकस परेको भन्दै प्रमुख जिल्ला अधिकारीले सहयोग गरिदिन सरकारलाई आग्रह गरेका छन् ।
जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखरामा आयोजना गरिएको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ मा मनाङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मात्रिका आचार्यले एम्बुलेन्स नहुँदा जिल्लाले भोगेको समस्या सुनाएका हुन् ।
‘वार्षिक रूपमा ३० हजार विदेशी र दुई लाखको सङ्ख्यामा स्वदेशी पर्यटक मनाङमा पुग्ने गर्छन्, तर जिल्लामा एउटा पनि एम्बुलेन्स छैन,’ प्रजिअ आचार्यले प्रश्न गरे, ‘विपद्मा परेका स्थानीय र पर्यटकको उद्धार कसरी गर्ने ?’
एम्बुलेन्स नहुँदा निजी जीप भाडामा लिएर तथा हेलिकप्टर मगाएर उद्धार गर्नुपर्ने बाध्यता रहेको पनि प्रजिअ आचार्यले जानकारी गराए ।
“मनाङका निजी जिप भाडामा लिएर विपद्मा परेकाको उद्धार गरी स्वास्थ्य केन्द्रमा पुर्याउनुपर्ने र कतिपय ठाउँमा त हेलिकप्टर नै मगाउनुपर्ने बाध्यता छ,” प्रजिअ आचार्यले भने, ‘‘स्वास्थ्य मन्त्रालयले जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो ।”
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख सहसचिव डा. प्रकाश बुढाथोकीले जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउनु पर्ने आवश्यकता औंल्याए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रद्वारा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायको स्वास्थ्य विभाग, स्वास्थ्य केन्द्रका प्रमुखहरूको सहभागिता थियो ।
प्रतिक्रिया