बलेलगायत कलाकारविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’लगायतका कलाकारविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । प्रहरीबाट बोलावट भएपछि उनीहरू आइतबार साइबर ब्युरोमा उपस्थित हुँदैछन् ।
कमेडी रियालिटी शो ‘कमेडी दरबार’मा उपस्थित कलाकारहरू सागर लम्साल ‘बले’लाई ब्यंग्य गर्ने क्रममा कलाकार सुन्दर खनालले उनलाई ‘टिकटकर नफाप्ने’ बताएका थिए । सोही व्यंग्यमाथि असन्तुष्टि जनाउँदै व्यंग्य गर्ने कलाकार खनाल, कार्यक्रममा उपस्थित कलाकार बले, उनकी श्रीमती श्रद्धा दंगाल, शोका निर्देशक बिक्की अग्रवाल, निर्मात्री श्रद्धा प्रसाईंलगायत विरुद्ध साइबर ब्युरोमा उजुरी परेको हो । उक्त कार्यक्रममा फिल्म लाज शरणमका अन्य कलाकारहरू अर्जुन घिमिरे ‘पाँडे र महेश त्रिपाठी पनि उपस्थित थिए । उनीहरूविरुद्ध भने कुनै उजुरी नपरेको बताइएको छ ।
बलेको नक्कल गरेर व्यंग्य गरेका खनालले ‘आफूलाई टिकटकर नफाप्ने बताएका थिए । त्यसप्रति असन्तुष्टि जनाउँदै एक महिला टिकटकरले उनीहरूविरुद्ध उजुरी दिएको स्रोतको भनाइ छ ।
उजुरी परेकामध्ये एक कलाकारले आफूहरूलाई साइबर ब्युरोबाट बोलावट भएको र आइतबार दिउँसो उपस्थित हुन लागेको जानकारी दिए ।
‘तपाईंहरूविरुद्ध उजुरी परेको छ, एक पटक आइदिनुप–यो भनेर प्रहरीबाट जानकारी आएको छ,’ ती कलाकारले भने, ‘त्यसैले आइतबार दिउँसो १ बजे साइबर ब्युरो गएर प्रहरीलाई भेट्दै छौं ।’
टेलिभिजन शो कमेडी दरबार पछिल्लो समय एकपछि अर्को विवादमा पर्न थालेको छ । यसअघि गायक कुमार सागरलाई गरिएको व्यंग्य विवादमा परेपछि निर्माण पक्ष उक्त अंश नै फाल्न बाध्य बनेको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया