NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

नीताका श्रीमानको शास्त्रार्थले टरेको पूर्वराजाको अनिष्ट !

काठमाडौं । उज्यालोको विकल्प अँध्यारो किमार्थ हुन सक्दैन । तर हल्लाखोरहरू यतिबेला नागरिकका सन्तान राष्ट्र प्रमुख हुन पाउने उत्तम व्यवस्थाको विकल्प राजा हुनुपर्ने भन्दै हल्लीखल्ली गर्दैछन् । आफ्नै सन्ततिको भाग खोस्न उद्यत कृतघ्नहरूको यस्तो कर्कश ध्वनि केही दिनयता यसरी फैलिरहेको छ कि मानौं, सबै कुरा मिलिसक्यो, अब मात्र राजा सिंहासनमा बस्न मात्र बाँकी छ ।

यततत्र राजा आउने हल्ला चल्न थालेपछि गोलबद्ध बनेका राजावादी यति हौसिएका छन् कि अन्य बेला ज्ञानेन्द्र आए, गएको मतलब नगर्ने उनीहरू आइतबार पोखराबाट काठमाडौं फर्कंन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भव्य स्वागतको तयारी गर्दैछन् । बाजागाजा र नारा जुलुससहित निर्मल निवास पु–याउँदैछन् ।

वर्षौंदेखि निराश, हतास राजावादी उत्साहित भइरहँदा अभिनेत्री नीता ढुंगानाका पति हरिहर अधिकारी भने राजा काठमाडौं फर्कन लागेको विषयले तनावमा छन् । दुःख पनि  कति भने घण्टा–घण्टामा चिन्ता जताउँदै फेसबुकमा पोस्ट् गरिरहनु परेको छ ।

तपाईंलाई लाग्न सक्छ, ज्योतिषीसमेत रहेका हरिहर अन्य गणतन्त्रवादीजस्तै राजावादीको बढ्दो सक्रियताले डराएका होलान् । गणतन्त्रमाथि उब्जेको प्रश्न पेचिलो बनेकाले नभई कुसाइतमा राजा काठमाडौं फिर्ती हुन लागेकाले हरिहर अत्तालिएका हुन् ।

हरिहरका अनुसार, आज चन्द्रमा मिथुन राशिमा छन् अर्थात् चन्द्रमा पश्चिम दिशामा छन् । जहिले पनि यात्रा गर्दा वा शुभ कार्य गर्दा चन्द्रमा अगाडि अथवा दायाँ पर्नुपर्छ। आज पोखराबाट काठमाडौं आउँदा चन्द्रमा पछाडि पर्ने भएकाले राजाको साइत नमिलेको हरिहर बताउँछन् ।

‘आज चन्द्रमा पछाडि परेर यात्रा गर्न सल्लाह दिने ज्योतिषी पण्डितहरूलाई के भनौँ खै ?’ राजालाई सल्लाह दिने ज्योतिषीहरूको विज्ञतामाथि गुनासो गर्दै हरिहरले सामाजिक सञ्जालमा लेखेका छन् ।

आफूद्वारा निर्मित फिल्मको व्यापारलाई लिएर समेत यति धेरै चिन्तित नदेखिएका हरिहरको चिन्ताको ग्राफ अहिले भर्खंरबाट भने घटेको छ । किनभने, उनकै सुझावअनुसार राजाले पश्चिम दिशाबाट त्यो पनि दही खाएर यात्रा गर्दैछन् ।

हरिहरजी, तपाईंको शास्त्रार्थले राजाको अनिष्ट टारिदिनुभयो । पूर्वराजा धन्य भए । यति गरिसकेपछि गुरुभेटीचाहिँ नछोड्नु नि है ?

ताजा अपडेट

नेपालवाच विशेष