NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख १५ गते

राजावादीबीच मनमुटाव, जस लिन होडबाजी

राजसंस्था पुनर्स्थापनाको मुद्दालाई कसरी अघि बढाउने भन्ने अन्योल देखिरहेका बेला राजावादी दल, समूह र संघ–संगठनबीच आफ्नो जनाधार र अबको आन्दोलनको अगुवाइ गर्ने विषयलाई लिएर प्रारम्भमै मनमुटाव सुरु भएको छ

काठमाडौं । राज संस्था पुनर्स्थापनाको माग अघि सारेर सडक संघर्षमा उत्रिएका दल तथा संघ–संगठनबीच राजाको पक्षमा सामान्य माहोल देखिने बित्तकै मनमुटाव सुरु भएको छ । राज संस्थाको पक्षमा सडकमा निस्किएको संख्या देखेर हौसिएका राजावादीहरू आन्दोलनमा उतारिएको संख्या, भूमिकालगायत विषयलाई लिएर प्रारम्भमै विभाजित बन्न पुगेका हुन् ।

गत २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको अभियानलगायत दल र संघ–संगठनको आह्वानपछि राजाको समर्थनमा उल्लेख्य मात्रामा मानिसहरू उपस्थित भएका थिए । उक्त प्रदर्शनमा देखिएको उपस्थितिलाई विश्लेषकहरू अविश्वसनीय भन्दै व्यवस्थामाथि खतराको घण्टी बजेको रूपमा हेर्नुपर्ने बताइरहेका छन् । तर राजावादीहरूबीच सुरुमै ती मानिस कसका कारण भेला भएका हुन् भन्ने मामुली विषयमै मतभेद सुरु भएको छ । माओवादी, एमाले हुँदै दल तीन वर्षअघि राजाको पक्षमा खुलेका दल बदलु दुर्गा प्रसाईंले आफ्नो कारण धेरै मानिस राजालाई स्वागत गर्न सडकमा आएको दाबी गरेका छन् । ‘हाम्रो कारण धेरै मानिस राजालाई स्वागत गर्न सडकमा आएका हुन् । यसमा राप्रपालगायतले जस लिन नखोजे हुन्छ,’ २५ गतेको प्रदर्शनको समीक्षा र भावी कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रसाईले भने । राजेन्द्र लिङ्देनभन्दा पनि आफू बढी राजावादी भएको जिकिर गर्दै उनले अबको आन्दोलनमा राजाले आफूलाई बढी स्पेस दिनुपर्ने उनको भनाइ छ ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पनि आफ्नो कारणले मानिसहरू सडकमा निस्किएकाले राजाले आफ्नो समूहलाई बढी भरोसा राखिदेओस् भन्ने चाहन्छ । दुर्गा प्रसाईं अवसरवादी चरित्रका भएकाले राजाले उनलाई बढी स्पेश नदिऊन् भन्ने राप्रपाको चाहना छ ।

राजतन्त्र त्यागेर गणतन्त्र र संघीयता कार्यान्वयन गराउन सरकारमा सहभागी भइसकेका कमल थापा फेरि खाँटी राजावादी बनेर सडकमा निस्किएका छन् । उनी पनि राजाले आफूलाई ठाउँ दिएर अगाडि बढाउन् भन्ने चाहन्छन् ।

सारथी बन्न हानथाप

राजावादीहरूले राजालाई स्पेश दिने गरी नवीन समझदारीमा जानुपर्ने मुद्दा अगाडि सारेका छन् । संघर्षबिना सरकारले आफूहरूको माग सुनुवाइ नगर्ने बुझेका राजावादी दल, समूह, संघ–संगठनहरू अर्को चरणको आन्दोलनको तयारीमा जुटेका छन् । स्रोतका अनुसार, उनीहरूबीच कसरी अघि बढ्ने भन्ने सन्दर्भमा विभिन्न चरणमा छलफल चलिरहेका छन् । सम्भवतः अबको केही दिनमै राजाको मुखबाट आन्दोलन घोषणा गरेर त्यसमा सहभागिताका लागि आह्वान गर्न लगाउने उनीहरूको तयारी छ ।

आन्दोलनमा जाने विषयमा राजावादीबीच मतभेद नभए पनि कसले अगुवाइ गर्ने भन्ने विषयमा मतान्तर बढ्न थालेको छ । संसदको चौथो ठूलो शक्ति भएकाले राप्रपा त्यसको स्वाभाविक नेतृत्व पूर्वराजाले आफ्नो पार्टीलाई दिनुपर्ने पक्षमा छ । स्रोतका अनुसार, राजासँग भएका पछिल्ला छलफल तथा वार्तामा राप्रपाले आफूहरूलाई अघि सारेर आन्दोलन चर्काउनुपर्ने प्रस्ताव गरेको छ । ‘राजाको पक्षमा विभिन्न दल र संगठनहरू गोलबद्ध भइरहेका छन् । तर त्यसमा सबैभन्दा विश्वसनीय दल राप्रपा भएकाले उसको अगुवाइमा अबको आन्दोलन अघि बढाउनु उपयुक्त हुन्छ,’ राप्रपाका एक पदाधिकारीले भने ।

तर दुर्गा प्रसाईंको मत भने फरक छ । राजतन्त्रको मुद्दा त्यागेर गणतान्त्रिक सरकारमा सामेल भइसकेको राप्रपालगायत दल माहोल हेरेर राजसंस्था पुनस्र्थापनाको मुद्दामा फर्किएकाले उनीहरूलाई राजाले बढी स्पेश दिन नहुने उनको मत छ ।

प्रसाईंले सार्वजनिक रूपमै राप्रपाले आफ्नो समूहलाई ‘गोठालाको व्यवहार गरेको’ भन्दै असन्तुष्टि जनाइ सकेका छन् । राजसंस्थाको पक्षमा आफूले माहोल निर्माण गरेपछि राप्रपा धमिलो पानीमा माछा मार्न आएकाले आफूलाई राजा फर्काउने अबको आन्दोलनको सारथी बनाउनुपर्ने प्रसाईको तर्क छ ।

‘राजाको पक्षमा माहोल बनेपछि राप्रपा धमिलो पानीमा माछा मार्न फर्किएको हो,’ राप्रपामाथि आक्षेपित गर्दै प्रसाईंले मंगलबार भने, ‘दुर्गा प्रसाई निःस्वार्थ भावनाले राजा फर्काउने अभियानमा जोडिएको हो । मजस्तो सारथी यो जमानामा कतै पाउनुहुन्छ । मलाई अघि सारेर अबको आन्दोलन अघि बढाउनुस ।’

प्रसाईंले राप्रपामाथि आक्षेपित गरेर आफूलाई असली राजावादी देखाउन खोजे पनि पूर्वराजा भने उनलाई भरोसा गर्ने मनस्थितिमा छैनन् । स्रोतका अनुसार, राजा ज्ञानेन्द्रले प्रसाईंलाई उनको हैसियत अनुसार मात्र स्पेश दिने सोच बनाएका छन् । ‘प्रसाईंको स्तर, दृष्टिकोण, वैचारिकी र छविका कारण पनि पूर्वराजा उनलाई ठूलो भूमिका दिने पक्षमा छैनन्,’ स्रोतले भन्यो ।

ज्ञानेन्द्रलाई मिलाउने चुनौती

टुट फुटसँग राजावादीको गहिरो सम्बन्ध छ । जब राजावादी सत्तामा पुग्छन्, तब टुट फुट र विभाजनको सिकार बनिहाल्छन् । यही कारण पूर्वपञ्चहरूको पार्टीका रूपमा समेत चिनिने राप्रपा कैयन् टुक्रामा विभक्त छ ।

राजावादीबीचको एकतालाई चुनौतीका रूपमा हेरिएका बेला अहिले नै यी समूहहरूबीच सामान्य विषयमा मनमुटाव चुलिएको छ । त्यसैले आन्दोलनका कार्यक्रम अघि बढ्दै जाँदा यो विवाद थप बढेर आन्दोलन नै सेलाउने खतरा एक पक्षले औंल्याउन थालेका छन् । ‘सबै पक्षलाई गोलबद्ध गरेर आफ्नो पक्षमा अगाडि लैजान ज्ञानेन्द्रलाई चुनौती हुने देखिँदै छ,’ स्रोत भन्छ ।

 

 

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष