सिद्धार्थनगर बन्यो मुलुककै उत्कृष्ट पालिका

लुम्बिनी । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकामध्येबाट उत्कृष्ट बनेको छ ।
नेपाल नगरपालिका सङ्घले आर्थिक वर्ष २०८०–८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सिद्धार्थनगरलाई पुरस्कृत गरेको हो । सङ्घको ३२औं स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धार्थनगर प्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१ बाट सम्मान प्रदान गरे ।
सङ्घले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकामध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आव २०८०–८१ मा सङ्घले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुसी लागेको सिद्धार्थनगरका प्रमुख खाँले बताए । सङ्घले नगरपालिकाहरूको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्ने गर्छ । त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । सिद्धार्थनगर प्रमुख खाँले सबैको मेहनत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरवासीलाई धन्यवाद दिए ।
“हामी जनप्रतिनिधि, कर्मचारी, नगरवासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौँ”, उनले भने, “यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।” आगामी दिनमा सबै सूचकाङ्कमा पालिकालाई सर्वोकृष्ट हुनेगरी काम गर्नुपर्ने उनले बताए ।
सिद्धार्थनगरले मुलुकभरका नगरपालिकालाई पछि पार्दै ८५ प्रतिशत अङ्क प्राप्त गरेको नगरपालिका सङ्घले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।
ताजा अपडेट
-
प्रतिनिधिससभा बैठक : नागरिक उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाउन माग
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थलबारे उपसमितिले बुझायो प्रतिवेदन
-
चिकित्सा शिक्षा आयोगको बैठक : निजी मेडिकल कलेजले निर्वाह भत्ता दिने
-
सुस्ता झोलुङ्गे पुल जोखिममा
-
भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र
प्रतिक्रिया