हसिनाको दाबी–बंगलादेशको प्रधानमन्त्री मै हुँ, युनुसलाई देश चलाउने अधिकार छैन

काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू अहिले पनि उक्त देशको प्रधानमन्त्री रहेको दाबी गरेकी छन् । उनले अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसलाई देश चलाउने संवैधानिक अधिकार नै नभएको तर्कसमेत गरिन् ।
‘अहिले पनि बंगलादेशको प्रधानमन्त्री मै हुँ,’ भारतमा निर्वासन जीवन बिताइरहेकी उनले भनिन्, ‘मोहम्मद युनुससँग देश चलाउन कुनै संवैधानिक आधार वा जनताको समर्थन छैन ।’
आफू जनताले चुनेको प्रतिनिधि भएको र संसद् सदस्यहरूबाट छानिएर प्रधानमन्त्री बनेको उनको तर्क छ । ‘उनीहरूले यो सोच्नु हुँदैन कि मैले सबै छोडेर देश त्यागेँ । संविधान अनुसार, जनताले चुनेको प्रतिनिधि र संसद् सदस्यहरूको चुनिएको उम्मेदवारको रूपमा म बंगलादेशको प्रधानमन्त्री हुँ। उनीहरूको (मोहम्मद युनुसको अन्तरिम सरकारको) कुनै वैधता छैन।’
उनले विदेशी पैसा प्रयोग गरेर युनुसले सत्ता हत्याउने खेल खेलेको आरोप पनि लगाइन् ।
आफ्नो दल अवामी लिगमाथि प्रतिबन्ध लगाउन माग गर्नेहरूप्रति पनि उनले रोष प्रकट गरेकी छन् । बंगलादेशमा हसिना सरकारविरुद्धको विद्रोह सफल भएपछि उनको दलमाथि पनि प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ ।
‘बंगबन्धु शेख मुजीवले अवामी लिगकै माध्यमबाट बंगाली जनतालाई एकताबद्ध गरेर देशलाई स्वतन्त्रता दिलाउनुभएको हो भन्ने कुरा कसैले भुल्नु हुँदैन,’ उनले भनेकी छन् ।
हसिनाको यो अभिव्यक्तिले बंगलादेशको राजनीति गर्माए पनि त्यहाँको वर्तमान सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
प्रतिक्रिया