ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
म्याग्दी । ट्र्याक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ–बिम–दिच्याम सडक अन्तरगत खारा–बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो।
गत असार महिनामा रु. ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ । ०६८ मा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो।
हाल तीन दशमलब पाँच देखि पाँच मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १ (२) बाट निर्वाचित रेशमबहादुुर जुग्जालीले बताए ।
जुुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा रु चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन रु २० करोडको बजेटको स्रोत सुुनिश्चितता भएको थियो । चालु आर्थिक वर्षमा भने रु एक करोड ५० लाख मात्र विनियोजन भएको छ।
सडकको शनिबार अनुगमन गरेका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए । लुरवाङ–तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ । यो सडकबाट मालिका गाउँपालिका–७, को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र –६ मराङ तथा मालिका गाउँपालिका– ६ दिच्यामका बासिन्दा लाभान्वित हुुने खाराका बासिन्दा बुद्धी जुग्जालीले बताए ।
धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुुम्न तथा दर्शन गर्न जाने पर्यटक एवम् भक्तजनलाई सहज हुुनेछ । सुुन्तला, आलुुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइँसराइ कम गर्न सहयोग पुुग्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया