के पाकिस्तानले भारतीय हवाई हमलाको जवाफ दिनेछ ?

काठमाडौं । भारतले बुधबार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा क्षेप्यास्त्र र हवाई हमला ग-याे । ‘विश्वसनीय गुप्तचर सूचना’का आधारमा चरमपन्थी अखडाहरूलाई निशाना बनाइएको दाबी भारतकाे छ ।
मंगलबार मध्यरातपछि भारतीय समयअनुसार १ः०५ बजेदेखि १ः३० बजेको बीचमा भएको हमलाका कारण स्थानीय बासिन्दा ब्युँझिएका थिए । त्यसयता त्यहाँका मानिस कुन बेला के हुने हो भन्ने त्रासले त्रस्त छन् ।
भारतले ९ स्थानलाई निशाना गरिएकाे जनाए पनि पाकिस्तानले भने ६ स्थानमा हमला भएको बताएको छ । भारतका पाँच लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी पनि पाकिस्तानले गरेको छ। तर, यसकाे न भारत न स्वतन्त्र ढंगले पुष्टि हुन सकेकाे छ।
पाकिस्तानका अनुसार भारतीय हवाई हमला र नियन्त्रण रेखा (एलओसी) मा भएको गोलाबारीमा ३१ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते छन्।
यसैबीच, एलओसीमा पाकिस्तानतर्फबाट भएको गोलाबारीमा १५ जना सर्वसाधारण मारिएको भारतीय सेनाले बताएको छ।
गत महिना जम्मु कश्मीरको पहलगाममा पर्यटकमाथि भएको घातक चरमपन्थी हमलापछि भारत–पाकिस्तानबीच पछिल्लो तनाव उत्पन्न भएको हो । यसले परमाणु हतियार सम्पन्न प्रतिद्वन्द्वीहरू युद्धमा तानिने त हाेइनन् भन्ने चिन्ता बढाएको छ ।
भारतले पहलगाम हमलामा पाकिस्तानका ‘आतंकवादी’ र बाह्य शक्तिहरूको संलग्नता रहेको स्पष्ट प्रमाण आफूसँग भएको बताउने गरेकाे छ । जबकि पाकिस्तानले यसलाई ठाडै अस्वीकार गरेको छ। भारतले आफ्नो दाबी पुष्टि गर्ने प्रमाण दिनुपर्ने पाकिस्तानकाे भनाइ छ ।
के यो हमला संघर्ष भड्किने संकेत हो ?
सन् २०१६ मा उरीमा १९ भारतीय सैनिक मारिएका थिए । त्यसपछि भारतले एलओसी पारि ‘सर्जिकल स्ट्राइक’ गरेको थियो। त्यसकाे तीन वर्षपछि २०१९ को पुलवामा विस्फोट हुँदा भारतीय अर्धसैनिक बलका ४० जवान मारिए । जवाफमा भारतले बालाकोट नजिक हवाई हमला ग–याे ।
विज्ञहरूका अनुसार पहलगाम हमलाको बदला लिन गरिएको कारबाहीको दायरा निकै फराकिलो छ, जसमा एकैसाथ पाकिस्तानका तीन प्रमुख चरमपन्थी समूह लश्कर–ए–तैयबा (एलइटी), जैश–ए–मोहम्मद र हिज्बुल मुजाहिद्दीनका अखडाहरूलाई निशाना बनाइएको छ।
भारतीय सरकारका प्रवक्ताले बताएअनुसार सबैभन्दा नजिकका लक्ष्यहरूमा सियालकोटमा दुई शिविर थिए, जो सीमाबाट केवल ६.१८ किलोमिटर टाढा छन्।
भारतले हवाई हमलाको सबैभन्दा टाढाको लक्ष्य, पाकिस्तानको १०० किलोमिटर भित्र बहावलपुरमा रहेको जैश–ए–मोहम्मदको मुख्यालय भएको बताएको छ।
एलओसीबाट ३० किलोमिटर टाढा र पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा रहेको लश्करको शिविरको सम्बन्ध भारत प्रशासित कश्मीरमा हालै भएका हमलाहरूसँग रहेको दाबी भारतले गरेको छ।
पाकिस्तानले आफ्नो क्षेत्रका छ स्थानलाई निशाना बनाइएको जनाउँदै आफ्नो भूमिमा कुनै आतंकवादी शिविरहरू नरहेको बताइसकेको छ ।
इतिहासकार श्रीनाथ राघवनले बीबीसीलाई भनेका छन्, ‘यस पटक अचम्मलाग्दो कुरा के छ भने भारतले विगतमा गरिएका हमलाहरूको ढाँचाको दायरा बढाएको छ। यसअघि, बालाकोटजस्ता हमलाहरूमा एलओसी पारि पाकिस्तानको कब्जामा रहेको कश्मीरमा ध्यान केन्द्रित गरिएको थियो, जहाँ सेनाको बाक्लो उपस्थिति छ।’
उनले अगाडि थपे, ‘यस पटक भारतले अन्तर्राष्ट्रिय सीमा पार गरी पाकिस्तानको पञ्जाबमा प्रवेश गरेर लश्कर–ए–तैयबा सम्बद्ध आतंककारी संरचना, मुख्यालय र बहावलपुर तथा मुरिदकेमा रहेका ज्ञात अखडाहरूलाई निशाना बनाएको छ। उनीहरूले जैश–ए–मोहम्मद र हिज्बुल मुजाहिदीनका अखडाहरूमा पनि हमला गरेका छन्। यो एक व्यापक, भौगोलिक रूपमा अधिक विस्तृत प्रतिक्रियाको संकेत हो, जसले धेरै समूहहरू अब भारतको निशानामा रहेको र एक फराकिलो सन्देश दिन्छ।’
भारत–पाकिस्तानकाे अन्तर्राष्ट्रिय सीमा गुजरातदेखि जम्मुसम्म फैलिएको छ।
पाकिस्तानका लागि पूर्व भारतीय उच्चायुक्त अजय बिसारिया भन्छन्, ‘भारतले जे गर्यो त्यो बालाकोट प्लस प्रतिक्रिया थियो, जसको उद्देश्य पहिचान गरिएका आतंकवादी केन्द्रहरूलाई निशाना बनाएर प्रतिरोध स्थापित गर्नु थियो । अर्काे कुरा याे तनाव कम गर्ने एक बलियो सन्देश पनि थियो।’
यी हमलाहरू विगतको तुलनामा अधिक सटिक र निशाना केन्द्रित भएको उनको भनाइ छ ।
भारतीय स्रोतहरूका अनुसार यी हमलाहरूको उद्देश्य ‘प्रतिरोध पुनः स्थापित गर्नु’ थियो ।
प्रोफेसर राघवन भन्छन्, ‘भारत सरकारलाई लाग्छ कि २०१९ मा स्थापित गरिएको प्रतिरोधक क्षमता कमजोर भएको छ र यसलाई पुनः स्थापित गर्न आवश्यक छ।’
उनका अनुसार, प्रतिरोधी क्षमताका लागि समय–समयमा हमलाको आवश्यकता हुन्छ । यद्यपि यसले मात्र आतंकवादलाई पछि धकेल्नेछ भन्ने विश्वास राख्न नहुने उनी बताउँछन् । यदि त्यस्तो विश्वास राखेको खण्डमा पाकिस्तानलाई पनि जवाफी हमला गर्न प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
के यो व्यापक संघर्षमा परिणत हुन सक्छ ?
अधिकांश विज्ञहरू पाकिस्तानले कारबाही गरेपछि कूटनीतिकाे आवश्यकता महसुस हुने भएकाले उसले जवाफी कारबाही गर्नु अपरिहार्य रहेको बताउँछन् ।
बिसारिया भन्छन्, ‘पाकिस्तानबाट जवाफ आउनु निश्चित छ। तर यसको चुनौती अर्को चरणको द्वन्द्व व्यवस्थापन गर्नु हुनेछ। यहींनेर संकटकालीन कूटनीतिले महत्व राख्नेछ।’
उनका अनुसार, ‘पाकिस्तानलाई संयम अपनाउन सल्लाह दिइरहेको हुनुपर्छ। तर पाकिस्तानको प्रतिक्रियापछि मुख्य कुरा कूटनीति हुनेछ ताकि दुई पक्षबीच द्वन्द्व थप नबढोस् भन्ने सुनिश्चित गर्न सकियोस्।’
लाहोरका राजनीतिक तथा सैन्य विश्लेषक एजाज हुसैनजस्ता पाकिस्तानी विज्ञहरू भारतको सर्जिकल स्ट्राइकमा मुरिदके र बहावलपुरजस्ता स्थानहरूलाई निशाना बनाइनु ‘तनावपूर्ण अवस्थाका कारण पहिलेदेखि नै आशंकित’ रहेको बताउँछन्।
डा. हुसैन भारतले गरेको हमलाको जवाफमा पाकिस्तानले कदम उठाउन सक्ने ठान्छन् ।
उनले भनेका छन्, ‘पाकिस्तानी सेनाकाे बदला लिने घोषित संकल्पलाई हेर्दा आगामी दिनहरूमा जवाफी कारबाही सम्भव देखिन्छ।’
तर डा. हुसैन दुवैतर्फबाट हुने सर्जिकल स्ट्राइक ‘एक सीमित परम्परागत युद्ध’ मा परिणत हुन सक्ने चिन्ता व्यक्त गर्छन्।
अमेरिकाको अल्बानी विश्वविद्यालयका क्रिस्टोफर क्लैरी भारतीय हमलाको व्यापकता, ‘प्रमुख स्थानहरूमा भएकाे प्रत्यक्ष क्षति’ र हताहतको संख्यालाई ध्यानमा राख्दै पाकिस्तानले जवाफी कारबाही गर्न सक्ने शंका व्यक्छ गर्छन् ।
दक्षिण एसिया मामिला अध्ययन केन्द्रसँग सम्बद्ध क्रिस्टोफर क्लैरीले भन्छन्, ‘त्यसो नगर्दा भारतलाई आफ्नो इच्छाअनुसार पाकिस्तानमाथि हमला गर्ने छुट मिल्नेछ र यो पाकिस्तानी सेनाको ‘बदलामा जवाफी कारबाही’ गर्ने प्रतिबद्धता विपरीत हुनेछ।’
‘मलाई लाग्छ कि पाकिस्तानले आफूलाई भारतीय सैन्य अखडाहरूमाथिको हमलासम्म मात्र सीमित राख्ने सम्भावना छ,’ उनले भने ।
बढ्दो तनावका बाबजुद केही विज्ञहरू भने अझै पनि तनाव कम हुने आशा व्यक्त गरिरहेका छन्।
क्लैरी भन्छन्, ‘यसको पनि राम्रै सम्भावना छ कि हामी यो संकटबाट बाहिर निस्कन सक्छौं र केवल एक–एक पटक जवाफी हमलाहरू हुन्छन् र केही समयका लागि एलओसीमा भारी गोलाबारी हुन्छ।’
यद्यपि, द्वन्द्व थप बढ्ने जोखिम भने अझै पनि कायम नै छ। यस कारण यो सन् २००२ को भारत–पाकिस्तान संकटपछिको ‘सबैभन्दा खतरनाक’ अवस्था रहेकाे विज्ञहरू बताउँछन् ।
पाकिस्तानले जवाफी कारबाही गर्ला ?
पाकिस्तानी विज्ञहरू भारतको हमलाअघि युद्ध उन्मादको स्थिति नभए पनि अवस्था चाँडै परिवर्तन हुन सक्ने ठान्छन्।
इस्लामाबादका विश्लेषक तथा जेन डिफेन्स विक्लीका पूर्व संवाददाता उमर फारुक भन्छन्, ‘हामी राजनीतिक रूपमा निकै विभाजित समाजमा बाँचिरहेका छौं। देशका सबैभन्दा लोकप्रिय नेता जेलको हिरासतमा छन्। इमरान खानलाई जेल पठाउँदा व्यापक रूपमा सेना विरोधी भावना उब्जिएको थियो ।’
उनी भन्छन्, ‘आज २०१६ वा २०१९ को तुलनामा पाकिस्तानका जनता सेनाप्रति कम झुकाव राख्छन्, युद्ध उन्मादको आम लहर स्पष्ट रूपमा छैन। तर यदि मध्य पञ्जावमा जनताको राय परिवर्तन भयो भने सेनामाथि कारबाही गर्न थप नागरिक दबाब पर्न सक्छ । यसले सेनाको लोकप्रियता भने फेरि बढाउनेछ।’
डा. हुसैन पनि यस्तै ठान्छन्। ‘मेरो विचारमा भारतसँगको हालको गतिरोध पाकिस्तानी सेनाका लागि जनताको समर्थन हासिल गर्ने अवसर हो । विशेष गरी शहरी मध्यम वर्ग, जसले हालै कथित राजनीतिक हस्तक्षेपका लागि यसको कडा आलोचना गरेको छ।’
सेनाको सक्रियतालाई पहिलेदेखि नै मूलधार र सामाजिक सञ्जालमा बढाइचढाइ देखाइएको र केही मिडिया आउटलेटहरूले ६ वा ७ भारतीय जेट विमान खसालिएको दाबी गरेको उनको भनाइ छ ।
‘यद्यपि यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन आवश्यक छ, तर यिनले जनताका ती वर्गहरूबीच सेनाको छवि बलियो बनाउने काम गर्छन् जो परम्परागत रूपमा बाह्य खतराको समयमा राष्ट्रिय प्रतिरक्षा भाष्यको वरिपरि एकजुट हुन्छन्,’ उनले थपे ।
वार्ताबाट निकासकाे सम्भावना कति ?
भारत फेरि एक पटक संघर्ष र संयमबीचको पातलो धागोमा हिँडिरहेको छ।
पहलगाममा भएको हमलाको केही समयपछि नै भारतले आफ्नो मुख्य सीमा नाका बन्द गरेर, सिन्धु जल सम्झौता निलम्बन गरेर, कूटनीतिज्ञहरूलाई निष्कासन गरेर र पाकिस्तानी नागरिकहरूको भिसा रद्द गरेर जवाफी कारबाही गरेकाे छ ।
दुवैतर्फका सेनाले साना हतियाबाट एकअर्कालाई फायरिङ गरेका छन् । जबकि, भारत र पाकिस्तान दुवैले एकअर्काका विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्।
यी कदमहरू, २०१९ को पुलवामा हमलापछि भारतले गरेका कारबाहीजस्तै छन् । जब उसले पाकिस्तानको मस्ट फेभरेड राष्ट्र (एमएफएन) को दर्जा रद्द गर्यो, भारी महसुल लगायो र प्रमुख व्यापार तथा यातायात सम्पर्कहरू निलम्बन गर्यो।
यो संकट त्यतिबेला झन् गहिरियो, जब भारतले बालाकोटमा हवाई हमला गर्यो । त्यसपछि पाकिस्तानले जवाफी हवाई हमलाहरू मात्र गरेन, भारतीय पाइलट अभिनन्दन वर्धमानलाई पक्राउ नै गर्यो । जसले तनावमा अागाेमा घिउ थप्ने काम गरेकाे थियाे ।
यद्यपि, कूटनीतिक माध्यमबाट तनाव कम भयो र पाकिस्तानले सद्भावको संकेतस्वरूप पाइलटलाई रिहा गर्यो।
गत हप्ता बिसारियाले मलाई भनेका थिए, ‘भारत पुरानो जमानाको कूटनीतिलाई अर्को मौका दिन तयार थियो। किनभने, भारतले एक रणनीतिक र सैन्य उद्देश्य हासिल गरेको थियो । अनि पाकिस्तानले चाहिँ आफ्नो घरेलु दर्शकहरूसामु जितको दाबी गरेको थियो।’
(बिबिसी हिन्दीबाट अनुदित)
ताजा अपडेट
-
करारमा नियुक्ति लिन शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस
-
जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबी सहकार्य
-
टोयोटाको खुद नाफामा ३५ प्रतिशतको गिरावटको प्रक्षेपण
-
चीनमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई कायमै रहनेछ : ट्रम्प
-
कर्णाली प्रदेश : चुरे संरक्षणलाई प्राथमिकता दिनेगरी योजना तयार गरिँदै
प्रतिक्रिया