NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १० गते

अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’का नाममा अनधिकृत ढंगले रकम उठाउने गरेको घटनामा मुछिएका गृह मन्त्री रमेश लेखकले आफूमाथिको आरोप पुष्टि गरेर देखाउन चेतावनी दिएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा भिजिट भिसाका विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताए ।

“अहिले जुन सवाल उठिरहेको छ, यस सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको कसैले प्रमाणित ग–यो भने म पदबाट होइन राजनीतिबाटै राजीनामा दिन्छु,” गृहमन्त्री लेखकले भने ।

गृह मन्त्रालयअन्तर्गत हजारौं कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुनेबित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गरे ।

गृहमन्त्री लेखकले अगाडि भने, “गृह मन्त्रालयमा हजारौं कर्मचारी छन्, यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्नसक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? त्यसकारण मैले भनिसके मेराविरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।”

आफ्नाविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले झुटा प्रचारबाजी गरिएको दाबी गर्दै उनले यसबारे स्पष्ट पार्न प्रतिनिधिसभाको जेठ १३ गते बस्ने बैठकमा समय मागेको बताए ।

“मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेको छु,” उनले भने ।

यसअघि आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित र प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष