साउनयता चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले २८ गैँडा मरे
चितवन । गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैँडा मरेका छन् ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा र राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् । गत साउन, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका थिए । कात्तिकमा चार, मङ्सिरमा दुई, पुसमा एक, माघमा तीन, फागुन र चैतमा चार/चार र वैशाखमा तीन वटा गैँडा मरेका हुन । यही जेठमा राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो ।
सूचना अधिकारी थापा मगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एक–आपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले थिए भने दुई वटा चोरी सिकारीले र एउटाको कारण खुल्न सकेको थिएन ।
मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतीले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए । विसं २०८० कात्तिक ३० गतेयता चोरी सिकारीले गैँडा मार्न पाएका छैनन् । विसं २०८० कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टर अन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करहरुले दुई वटा गैँडा मारेका थिए । त्यस घटनामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरी निकुञ्जले सार्वजनिक गरेको थियो ।
सन् २०२१ को गणना अनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ । बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन भएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया