ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच भेट
काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रको सहकार्यका विविध विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न दातृ निकायको साथ र सहयोग आवश्यक रहेको बताए।
मन्त्री खड्काले वायु र सौर्य ऊर्जामा उरुग्वेको सफलताको उच्च मूल्यांकन गर्दै नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग र लगानीका सम्भावना पहिचान गर्न आग्रह गरे । व्यापार, ऊर्जा क्षेत्रमा लगानी दिगो विकास तथा पर्यटनको क्षेत्रमा सहकार्य विस्तार गर्न प्रशस्त सम्भावना नेपालले देखेको उनले बताए।
भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको भन्दै उक्त अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताए।
उनले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालको सीप, अनुभव र दक्षता उरुग्वेलाई काम लाग्ने भएकाले अनुभव आदानप्रदान गर्न सकिने उल्लेख गरे । भेटमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया