NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २९ गते

नागरिकतासम्बन्धी विधेयक पारित

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।

सिंहदरवारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो ।

समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता विहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । सबै समिति सदस्यहरूको सहमतिमा सर्वसम्मत रूपले विधेयक पारित भएको उनले बताए ।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्त्वपूर्ण रहेको बताए ।

गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए ।बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने विषय विधेयकमा मुख्य रूपमा समेटिएको उनले बताए ।