NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची छ । जस अनुसार संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो तीन बजेका लागि बैठक बोलाइएको छ।

बुधबारको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरेपछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए।

बुधबार अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि दिउँसो ३ः१५ बजेवाट सुरू भएको बैठकलाई प्रतिपक्षले अबरोध गरेका थिए । बुधबारको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२–८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची थियो।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे अध्यागमन विभागमा भएको भिजिट भिसा ठगी प्रकरणलाई लिएर प्रतिपक्ष दलहरूले सदन अवरोधलाई जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानविन समिति गठनको माग गरिरहेका छन्। तर, सत्तापक्ष भने विपक्षीका दुवै मागमा सहमत छैन। सत्ता र विपक्षीको अडानले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बुधबारको बैठक पनि अवरुद्ध भएको छ।

सदन सुचारु गर्न सभामुख देवराज घिमिरेले गरिरहेको निरन्तरको प्रयास सफल हुन सकेको छैन। प्रतिनिधिसभाको अवरोध खुलाउने बारेमा सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरूको बुधबार बसेको बैठक पनि निष्कर्ष बिना टुंगिएको छ।

राजनीतिक दलहरूले आफ्नो अडान कायमै राखेकाले सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुंगिएको हो। सभामुखसँगको छलफल निष्कर्षविहीन भएपछि कांग्रेस, एमाले, माओवादी, रास्वपा लगायतका दलहरू छुट्टै छलफलमा जुटेका थिए ।