NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

नागरिकप्रतिको दायित्व निर्वाह गर्न कटिबद्ध छु : गृहमन्त्री लेखक

काठमाडौं – गृहमन्त्री रमेश लेखकले नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्न आफू हरदम कटिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदले उठाएका जिज्ञासाबारे स्पष्ट पार्दै उनले आफूले गर्ने काम कारबाहीसँग असम्बन्धित विषयलाई स्वार्थवस् उठाइएको कुप्रचार भन्दै खेद प्रकट गरे । उनले सो विषयमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारे ।

सेवा प्रवाहको प्रभावकारिताका लागि संस्थागत र भौतिक पूर्वाधार सुधार महत्त्वपूर्ण रहेको जनाउँदै गृहमन्त्री लेखकले आफूले जिम्मेवारी सम्हालेपश्चात अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको जिकिर गरे । “अन्तरराष्ट्रिय विमानस्थलमा ‘डेस्क’ थप गरी सूचना प्रविधिको प्रयोग गरी ‘भिसा स्क्यानिङ’ गर्ने र सुरक्षा प्रबन्धलाई थप मजबुत बनाइएको छ”, उनले भने ।

गृहमन्त्रीले विमानस्थल अध्यागमनसँग जोडिएको घटनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरिसकेको उल्लेख गर्दै अनुसन्धानमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “केके गर्दा राज्यमा सुशासन स्थापित हुन्छ, त्यसका लागि तयार छु भन्ने विषय पुनः दोहोर्याउन चाहन्छु”, उनले भने ।

आयोगको अनुसन्धानबाट दोषी देखिएकालाई कानुनबमोजिम कारबाही हुने जनाउँदै मन्त्री लेखकले आयोगको निर्णयभन्दा अगाडि नै सक्षम निकायलाई ओझेलमा पारेर कसैलाई दोषी करार गर्न हतार नगर्न आग्रह गरे । स्वतन्त्र र सक्षम संवैधानिक निकायको अनुसन्धानको निष्कर्ष नै समग्रतामा जवाफ हुने भएकाले यसमा थप प्रष्टीकरण दिइरहनु नपर्ने उनको भनाइ छ ।

मन्त्री लेखकले भने, “कुनै पनि राष्ट्रसेवकले गर्ने भ्रष्टाचारजन्य कामको अनुसन्धान, अभियोजनलगायत कार्य गर्न सक्षम संवैधानिक निकाय छ । उसले गर्ने कामकारबाहीलाई कमजोर पार्ने र स्वयं आयोगलाई समेत अनुसन्धानमा प्रभावित पार्ने कार्य कतैबाट गरिनुहुन्न भन्ने विषयमा म स्पष्ट छु ।”

उनले सार्वजनिक निकाय एवं पदाधिकारी लक्षित गरी राज्यका संरचनालाई कमजोर तुल्याउने र व्यक्तिगत चरित्र तथा संस्थागत प्रतिष्ठालाई कमजोर पार्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्न अनुरोध गरे ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत सहसचिव आफ्नो पालामा अर्को मन्त्रालयबाट सरुवा गरी ल्याएको अधिकारी नभई गृह मन्त्रालयमै कार्यरत भएकाले जिम्मेवारी हेरफेरमात्र गरिएको उनले बताए । गृहमन्त्रीले अनुसन्धानलाई कमजोर पार्न अख्तियारमा कार्यरत प्रहरी नायब महानिरीक्षक सरुवा गरेको भन्ने विषय सत्य नभएको बताए ।

आफूले गृह प्रशासन सुधारको योजना अघि बढाइरहेको जानकारी दिँदै उनले पदभार सम्हालेदेखि सार्वजनिक प्रशासनको थप प्रभावकारिताको प्रयास गर्दै आएको स्पष्ट पारे ।

“मन्त्रालयको नेतृत्व वा विभागीय प्रमुखको हैसियतले गृहमन्त्री नीति निर्माण र सरकारको राजनीतिक संयोजनमा बढी केन्द्रित हुनुपर्छ, कानुनले तोकेको प्रशासनिक कार्यदेखि बाहेक अन्य कार्यमा मन्त्रीको संलग्नता रहँदैन”, गृहमन्त्री लेखकले प्रश्न गरे, “तसर्थ, यस्तो अवस्थामा कुनै कार्यालयमा घटित कुनै घटनासँग मन्त्रीको प्रत्यक्ष भूमिका वा संलग्नता कसरी हुन्छ ?”