NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३१ गते

पहिरो हटाएपछि जुम्ला–नाग्म सडक खुल्यो

जुम्ला – अवरुद्ध जुम्ला–नाग्म सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत जुम्लाको तातोपानी–१ स्थित बाइराँकामा आज दिउँसो ३ः०० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

जुम्ला सदरमुकाम खलङ्गामा रहेको सडक डिभिजन कार्यालयबाट खटिएका कर्मचारी र आवश्यक जनशक्ति र मेसिनरी साधन परिचालन गरेपछि साँझ ७ः०० बजेतिर सडक खुलेको सडक डिभिजनका प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए ।

राजमार्ग बन्द हुँदा बजारबाट छुट्ने कालिकोटको नाग्मा हुँदै सुर्खेत नेपालगञ्ज र मुगुको गमगडी जाने सवारीसाधन करिब चार घण्टा सडकमा रोकिएका थिए ।

माथिबाट ठूला ढुङ्गा र माटोसहितको पहिरो खसेर सडक बन्द हुँदा दुवैतर्फका सवारीसाधन जाममा परेको थियो । अहिले राजमार्गमा खसेको पहिरो पन्छाएपछि सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेको सडक डिभिजन कार्यालयले जनाएको छ ।