टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
नवलपरासी । जलकुम्भीले ढाकेर नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित ऐतिहासिक टरुवा तालको अस्तित्व संकटमा परेसँगै यसलाई जोगाउन ताल सफाइ गर्न थालिएको छ । ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर अस्तित्वनै संकटमा पर्न थालेसँगै सफाइ कार्य सुरु गरिएको हो ।
पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको ताल कावासोती नगरपालिका-७ र ८ मा पर्दछ । कावासोती तालका रूपमा समेत चिनिने यस तालको क्षेत्रफल ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशको अभिलेखअनुसार तीस हजार ७१३ वर्ग मिटर रहेको छ । ताललाई जलकुम्भीसहितका झारले ढाकेर हरियो चौर जस्तो देखिने अवस्थामा पुगेपछि कावासोती नगरपालिकाले यसको सफाइ थालेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत तालको सफाइ काम सुरु गरिएको रोजगार शाखा कावासोतीका रोजगार संयोजक प्रतीक्षा पौडेलले बताइन् । एक हप्तादेखि तालको सफाइको काम जारी रहेको उनले बताइन् । रोजगार शिर्जनासँगै तालको सफाइको काम हुने भएकाले जनशक्ति परिचालन गरिएको उनले भनिन् ।
नियमित रूपमा तालको सफाइको काम हुन नसकेको अवस्थामा अहिले रोजगार शाखाद्वारा जनशक्ति परिचालन गरी सफाइको काम थालिएको हो । दैनिक रूपमा करिब पच्चिस जनाको हाराहारीमा जनशक्ति ताल सफाइमा जुटेका छन् । ‘बेरोजगारको सूचिमा नाम टिपाएकालाई केही दिन रोजगारमा जोड्ने गरी ताल सफाइमा जुटेका हौँ, यसले ताललाई पुरानो अस्तित्वमा फर्काउन सहयोग पुग्ने विश्वास छ’ कार्यक्रम संयोजक पौडेलले भनिन् ।
केही वर्ष अघिसम्म ताल सफा रहेको थियो । नियमित सफाइ नगर्दा ताललाई जलकुम्भी र झारले ढाक्दै गएको हो ।
टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताए । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरमा रहेको प्राकृतिक रूपमा सुन्दर ठाउँ भएकाले यसको संरक्षणमा थप काम गर्नुपर्ने अध्यक्ष महतोले बताए ।
हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । हालको बजार क्षेत्र मानिने कावासोती–२, ३, ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा टरुवा तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईबस्तुलाई खुवाउन देखि घर निर्माणकार्यसमेतमा प्रयोग गर्ने गर्दथे । टरुवा ताल भएकै कारण पानीको उपलब्धता भएको र हालको कावासोती बजारको रूपमा विकास भएको भन्ने धारणा रहिआएको छ । यसकारण पनि ताललाई ऐतिहासिक टरुवा तालको संज्ञा दिने गरिएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया