चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द
चितवन । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरेको छ ।
निकुञ्जले सूचना जारी गर्दै वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जिप सफारी बन्द गरेको जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो सातासम्म जिप सफारी बन्द गरिएको हो । त्यतिबेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि बर्सात कम भएमा असोजको पहिलो साता सफारी खुल्नेछ ।
वर्षाको समय जङ्गली जनावरका लागि प्रजननको समय मानिन्छ । मानिसहरू यस समयमा निकुञ्जभित्र प्रवेश गर्दा जङ्गली जनावरको बासस्थान तथा प्रजननमा पनि दख्खल पर्न सक्ने भन्दै निकुञ्जले जिप सफारी बन्द गरेको हो ।
मगरका अनुसार बर्खायामको समयमा निकुञ्जको बाटोहरू बिग्रिने तथा बाढी आउने हुँदा पर्यटकहरूको सुरक्षाको समेत मध्यनजर गरिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष बाढीको समयमा व्यावसायिक जिप सफारी बन्द गर्ने गरेको छ । निकुञ्जको सौराहा क्षेत्रबाट ३२, कसराबाट २१, मेघौलीबाट ११ र नवलपरासीबाट नौवटा जिपले निकुञ्जभित्र पर्यटक घुमाउने गर्दछन् । निकुञ्जबाहिरका मध्यवर्ती वन क्षेत्रमा जिप सफारी नियमित सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया