सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ योजनाको ३७ वर्षपछि पक्की नहर निर्माण भएको छ ।
२०४५ सालमा निर्माण भएको कच्ची नहर पक्की भएपछि योजनाबाट लुरवाङमा रहेको १५० घरधुरी किसानको करिब ३०० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिले जनाएको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको सहयोगमा उपभोक्ता समितिले योजना निर्माण गरेको हो ।
नहरमा पानी चलाएपछि लुरवाङकाे फाँटमा धान रोपाइँका लागि यसपालि आकाशे पानी कुर्न नपरेको स्थानीय किसान बुद्धि जुग्जालीले बताए । कच्ची नहरमा पानी सोसिने र भीरमा पाइप राख्दा डढेलोले नष्ट गर्ने समस्या थियो ।
उपभोक्ता समितिका अध्यक्ष झकबिर जुग्जालीले पक्की नहर निर्माण भएपछि बेल्फिको मुहानबाट लुरवाङको फाँटमा सिँचाइका लागि पानी ल्याउन हरेक वर्ष पाइप फेर्नुपर्ने झञ्जटबाट मुक्ति मिलेको बताए ।
‘यसपालि पक्की नहर निर्माण भएपछि हरेक वर्ष पाइप फेर्नुपर्ने समस्या हटेको छ,’ उनले भने ‘पाइप परिवर्तन गर्दा हुने खर्च पनि बचत भएको छ ।’ चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट बिनियोजन भएको योजनामार्फत गलघण्टीको भीर र लुरवाङमा ३०० मिटर पक्की नहर निर्माण भएको छ ।
एक सय ७० मिटर १२५ मिलिलिटर क्षमताको पाइपलाइन जडान गरिएको उपभोक्ता समितिका सचिव टुकमान जुग्जालीले बताए । गलघण्टीको जोखिमयुक्त अक्करे भिरमा सावधानी अपनाएर करिब १०० पक्की नहर निर्माण गरिएको उनको भनाइ छ । गत वर्ष विनियोजन भएको १० लाख बजेटबाट बेल्फिमा इन्टेक, बाँध र करिब २०० मिटर पाइपलाइन जडान भएको थियो ।
आगामी वर्षका लागि बिनियोजन भएको १० लाख बजेटबाट लुरवाङमा एक वटा ‘क्रसिङ’ र थप नहर बनाएर आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । लुरवाङमा धानलगायत खाद्यबालीका साथै सुन्तला र व्यवसायिक तरकारी खेती गर्न सहज भएको छ । बिम गाउँको फेदीमा रहेको लुरवाङलाई स्थानीयबासीले अन्नको भण्डार मान्ने गर्छन् ।
प्रतिक्रिया