NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

झोलुङ्गे पुल निर्माणपछि छोटियो यात्राअवधि

म्याग्दी । धवलागिरि गाउँपालिका–६ मा रहेको मराङखोलामा तीन सय ६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना कास्की, पोखराले घाइरीबोट र खाउरीबाङ जोड्ने पुल निर्माण गरेको हो । धवलागिरि गाउँपालिका–६ का वडाध्यक्ष राजाराम सुवेदीले पुलबाट धवलागिरि –६ का साथै वडा नं ५ मल्कवाङ र मालिका गाउँपालिका–७ बिमका बासिन्दा लाभान्वित भएका जानकारी दिए ।

‘मराङमा रहेको वडा कार्यालय, स्वास्थ्य चौकी र जनविकास माविमा पुग्नका लागि अर्बाङ, घण्टीवाङका बासिन्दालाई यात्राअवधि छोटिएको छ’, उनले भने, ‘अर्वाङ, घण्टीवाङ, रिखका बासिन्दालाई मराङबेँसीमा झरेर वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यमिक विद्यालय भएको ठाउँमा पुग्न करिब एक घण्टा पैदलयात्रा गर्नुपर्नेमा पुल बनेपछि यात्राअवधि १५ मिनेटमा छोटिएको छ ।’

उक्त पुल निर्माणका लागि २०८१ साल असारमा बेनी नगरपालिका–२ को निर्माण कम्पनीले रु दुई करोड ५० लाखमा ठेक्का सम्झौता गरेको थियो । १८ महिनाको ठेक्का अवधि भए पनि १२ महिनामै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालक प्रदीप सापकोटाले बताए । स्थानीय पूर्वाधार विकास आयोजना कास्कीमार्फत यसै वर्ष धवलागिरि गाउँपालिका–३ दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल पनि निर्माण भएको छ । यस वर्ष निर्माण भएका दुईवटासहित म्याग्दीमा तीन सय मिटरभन्दा लामा झोलुङ्गे पुलको संख्या चारवटा झोलुङ्गे पुल छवटा पुगेको छ ।

रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा तीन सय ६५ दशमलव ८० मिटर, मालिका–७ बिमवाङ र धवलागिरि –६ रिख जोड्ने तीन सय ५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर र अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने तीन सय ४४ मिटर लामो पुल निर्माण भइसकेका छन् ।