NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

आज यी पाँच प्रदेशमा अत्यधिक वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

 

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढी पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।