श्रावणको रङ्ग
हरियालीले भरिएको श्रावण महिना । विशेषगरी हिन्दू महिलाहरूका लागि याे एक पवित्र र रङ्गिन पर्व । वसन्तको बहारसँगै असारे झरी बोकेर आउने श्रावण, प्रकृतिको सुन्दरताको अनुपम प्रतीक हो। सायद त्यसैले होला, यो महिनाले ल्याउने उत्साह र उमङ्गलाई महिला दिदीबहिनीहरूले फूलका गुच्छाझैँ हृदयमा सजाएर स्वागत गर्छन्।
श्रावण भन्नासाथ हरिया र पहेँला वस्त्र, चुरा, पोते र मेहन्दीले सजिएका महिलाहरूको याद आँखाअगाडि झुल्किन्छन् । यस महिनाको महिमा अपरम्पार छ । र त यसलाई सजाउन महिलाहरू आतुर देखिन्छन्। यो नारी समर्पणको एक अनुपम उदाहरण हो, जहाँ उनीहरू प्रकृति र महादेवप्रति आफ्नो अगाध प्रेम दर्शाउँछन्।
कसैका लागि यो रहर हो भने कसैका लागि आस्था र परम्पराको निरन्तरता। जे भए पनि, प्रकृतिलाई यसरी सजिएको देख्दा कसकाे मन प्रफुल्लित नहाेला ?
श्रावणमा महिलाहरू लसुन, प्याज, माछा-मासु त्यागेर चोखो मनले व्रत बस्छन्। यो देवहरूका देव महादेवको महिना हो, जसलाई हिन्दू महिलाहरूले आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै आराधना गर्छन्। महादेवलाई पहेँलो रङ्ग प्रिय मानिने भएकाले पनि होला, सबै हरिया र पहेँला पहिरनमा सजिएका देखिन्छन्।
यसै अवसरमा, प्रकृति र समर्पणको भावनालाई समेट्दै एक मुक्तक:
लसुन प्याज माछामासु जे पनि बार्न सक्छु
तिम्रो निम्ति संसार छोड्न अनि हार्न सक्छु
संसारले जे भनोस् अरुको पर्वाह नहिँ हामी
तिमी मन दिनु, हरिया चुरा यसै टार्न सक्छु।
मेहन्दीमा नाउँ मैले लेखुँ या नलेखुँ त्यहीँ नै
मनमा सजाइ सारा इच्छा जति मार्न सक्छु।
महादेवको नाममा आफ्ना पतिदेवको लामो आयुको लागि निर्जला व्रत बस्ने महिलाहरूको त्याग साँचै प्रशंसनीय छ। घण्टौँ लामो लाइनमा बसेर महादेवको दर्शन गर्ने धैर्य, मनपर्ने पहिरनमा सजिने उत्साह, र हरि कीर्तनमा ढल्दा पनि नथाक्ने समर्पण – यो सबै नारी शक्तिको द्योतक हो। जसरी एउटी दुलहीले आफ्नो माइतीघर छोडेर नयाँ जीवनमा समर्पित हुन्छिन्, त्यसरी नै यी महिलाहरू महादेवप्रति पूर्ण रूपमा समर्पित हुन्छन्। यस्ता सम्पूर्ण महिला दिदीबहिनीहरूमा हार्दिक नमन, र उहाँहरूको व्रतको फल मिलोस् भन्ने कामना गर्दछु। हे महादेव, प्रत्येक दिदीबहिनीको सबै इच्छा चाहना पुरा होउन्।
हो, मेहन्दीका रङ्ग उड्छन्, तर नाम त मुटुमा लेख्ने हो। जब नाम मुटुमै लेखिन्छ, तब उहाँलाई खुसी पार्न, आफू राम्री देखिनका लागि मेहन्दी लगाइन्छ, उहाँकै नामको चुरा पोते लगाइन्छ। उहाँलाई म राम्री भएको खुब मनपर्छ, न कि “तिमी मेरी भइसक्यौ, अब केका लागि राम्री?” भन्ने विचार। उहुँ, यो विचार कहिल्यै आउँदैन। त्यसैले त, जति राम्री छु, त्योभन्दा झन् राम्री भइदिन मन लाग्छ। यही मेहन्दीको रङ्ग जस्तै रङ्गिन र गाढा हुन मन लाग्छ।
रङ्ग उडोस्, जवानी जाओस्, ती त प्रकृतिका नियम हुन्। फेरि प्रकृतिलाई सजाउने कर्तव्य हाम्रो होइन र?
आहा! यसरी नै प्रत्येक महिना रहुन्, प्रत्येक दिन यसरी नै रमेर बितुन्। सबैमा केही न केही दुःख, पीडा, उदासीपन त छँदै छ, तर यस्ता क्रियाकलापले पनि कति पीडाहरूलाई यसै हराइदिन्छन्। त्यसैले, जे छ, जे हुँदै छ, त्यसमै रमिरहनु। प्रत्येकको जीवन यही हरियाली श्रावणमा गोरुको आँखा फुटेर हरियाली देखेजस्तै होस्। आशा गरौँ, जीवनमा लेकाली हरियाली छाएझैँ सबैको जीवनमा सधैँ हरियाली छाइरहोस्।
हरियाली श्रावणको सम्पूर्णमा मङ्गलमय शुभकामना !


प्रतिक्रिया