NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

जेनजी आन्दोलनमा प्रहरी दमनपछि कांग्रेसभित्रै गृहमन्त्री लेखकको राजीनामा माग

जेनजीको विरोध प्रदर्शनमा प्रहरीले गरेको दमनमा १७ जनाको ज्यान गएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन्। घटनामा दर्जनौं घाइते भएका छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्रीको जिम्मेवारी स्पष्ट रहेको भन्दै राजीनामा दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ, नभए पार्टीले फिर्ता बोलाउनुपर्छ। युवाहरुको मृत्युप्रति उनी प्रत्यक्ष जिम्मेवार छन्।”

नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले गृहमन्त्री लेखकलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगीको रूपमा आरोप लगाउँदै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने बताइन्। उनले भनिन्, “भवनको पर्खालको सुरक्षा कयौं मानिसको ज्यानभन्दा महत्त्वपूर्ण होइन। निकम्मापनले कालो इतिहास लेखिएको छ। नालायक गृहमन्त्रीले राजीनामा दिनुपर्छ र कांग्रेसले रगतको दाग लागेको सरकार छोड्नुपर्छ।”

यस्तै, कांग्रेस नेता व्रितान्त खनालले समेत कांग्रेसले सरकारमा बसिरहन नहुने चेतावनी दिएका छन्। उनले पार्टीलाई आह्वान गर्दै भने, “अझै चुप लागेर बस्ने भए, हामी कांग्रेसभित्रै आन्दोलन घोषणा गर्छौं।”

नेविसंघका नेता धर्मराज शाहीले सरकारलाई ‘अपराधी’को संज्ञा दिँदै घटनामा संलग्नहरुलाई माफी नदिने चेतावनी दिए। उनले भने, “हाम्रा बच्चाको रगत बगाउने अपराधीलाई कुनै हालतमा माफ गर्न सकिँदैन। अब यो आन्दोलन हाम्रो पनि हो। हामी पूर्ण ऐक्यबद्धतासहित सडकमा उत्रनेछौं।”

ताजा अपडेट

नेपालवाच विशेष