NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

आज पनि लामो दूरीका सवारीसाधनलाई उपत्यकाबाट बाहिरिन रोक

काठमाडौं । लामो दूरीका सवारीसाधनलाई काठमाडौं उपत्यकाबाट बाहिरिन आज पनि रोक लगाइएको छ ।

काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा शुक्रबारदेखि परेको अविरल वर्षा आइतबार बिहानबाट रोकिएको छ । ठूलो वर्षाको खतरा टरे पनि पानी पर्ने सम्भावना कायमै छ । त्यस्तै अविरल वर्षाका कारण विभिन्न सडकहरू अवरुद्ध बनेका छन् । यसैलाई मध्यनजर गर्दै उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारीसाधनहरूको सञ्चालनमा रोक लगाइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यकबाहेकका सवारीसाधनलाई काठमाडौंबाहिर जान नदिइएको जनाएको छ । आइतबार बिहानसम्म बाहिरबाट काठमाडौं उपत्यकाभित्र गाडी भित्रिएको छैन ।

अविरल वर्षाले बाढी तथा पहिरोको जोखिम बढाएपछि त्यसबाट हुने सम्भावित जनधनको क्षति रोक्न सरकारले शनिबार उपत्यकाबाट सवारीसाधन बाहिर जान दिएको थिएन । त्यस्तै, काठमाडौंतर्फ आइरहेका सवारीसाधनलाई पनि विभिन्न सुरक्षित स्थानमा रोकिएको थियो ।

सवारी आवागमनमा रोक लगाइएपछि यात्रुहरूले काटेका टिकट फिर्ता गराइएको छ । त्यस्तै, अर्को व्यवस्था नभएसम्मका लागि टिकट नकाट्न पनि सबैमा अनुरोध गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशका अधिकांश मुख्य राजमार्गमा पहिरो खसेका छन् । कतिपय स्थानमा अझै पनि पहिरो जाने जोखिम देखिएको छ । खसेका सबै पहिरो हटाएपछि र अवस्था सामान्य बनेपछि सवारी आवागमन पूर्ववत् सञ्चालन गर्ने सरकारको तयारी छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष