NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

बिनाजानकारी २७ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र नआए जागिरबाट हटाइने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २७ प्रहरीलाई हाजिर हुन बोलाएको छ । आफू कार्यरत कार्यालयमा बिनाजानकारी गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेर हाजिर हुन बोलाएको हो ।

बिना जानकारी ९० दिनभन्दा बढी समयदेखि गैरहाजिर रहनेमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्म छन् ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी खोजतलास गर्दा र प्रहरी नियमावली अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि सातदिने स्पष्टीकरण सोधिएको प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालयले जनाएको छ ।

बिनाजानकारी कार्यालयमा अनुपस्थित रहनेहरूमा प्रहरी सहायक निरीक्षक रामप्रसाद गौतम, प्रहरी हवल्दार राजकुमार राई, भरत कट्टेल, प्रहरी सहायक हवल्दार मुस्कान लिम्बू, बद्रीविक्रम थापा, गंगाबहादुर बिष्ट, प्रहरी जवान सुजन मगर, सनु कार्की, प्रहरी कार्यालय सहयोगी हिमान्सविक्रम चन्दलगायत छन् ।

प्रधान कार्यालयले उनीहरूलाई स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिँदै अटेरी गरेको खण्डमा प्रहरी नियमावली, २०७१ अनुसार सेवाबाट हटाउने चेतावनी दिएको छ । प्रहरी नियमावली, २०७१ मा कुनै पनि प्रहरी कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा प्रक्रिया पुु–याएर सेवाबाट हटाउन सकिने व्यवस्था छ ।

नेपाल प्रहरीलगायत सुरक्षा निकायमा बीचमै जागिर छाड्ने प्रवृत्ति लामो समयदेखि विद्यमान छ । यसरी सुरक्षाकर्मी बीचमै सेवाबाट अलग हुँदा उनीहरूमा राज्यले गरेको ठूलो लगानी त्यत्तिकै खेर गइरहेको छ । अवकाशको अवधि, न्यून वेतन, आकर्षक वैदेशिक रोजगारी लगायतका कारणले यसमा काम गरेकाे बताइन्छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष