NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने भएको छ ।

गत माघ महिनामा हिउँ परेका र विद्यालय सञ्चालन हुन नसकेका डोल्पा, हुम्ला, जुम्ला तथा मनाङमा खोप अभियान सञ्चालन गर्न थालिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

उनका अनुसार खोप अभियानको आवश्यक तयारी गर्न ती जिल्लामा निर्देशन र स्वास्थ्यकर्मीलाई पनि तालिम दिइसकिएको छ । गत माघ २५ देखि फागुन १५ गतेसम्म कक्षा ६ मा पढ्ने र विद्यालयबाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप लगाइएको थियो । यसैगरी, कक्षा ७ देखि १० सम्मका बालबालिका तथा ११ देखि १४ वर्षका विद्यालय नजाने किशोरीलाई पनि खोप लगाइएको थियो ।

खोप शाखा प्रमुख डा. गौतमले अभियानका क्रममा ७३ जिल्लाका तीन लाख २३ जना किशोरीलाई एचपिभी खोप लगाइएको बताए। पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले सरकारले त्यसविरुद्ध खोप लगाउने अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।