पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार : पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
काठमाडाैं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी, प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना र दुई कम्पनीविरुद्ध करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रूपैयाँ बिगो दाबीसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको खरिद सम्झौता भित्र रहेको कार्य सम्झौताका सर्त र प्रावधान अनुरूप २८ कराेड अमेरिकी डलरबाटै गर्नु/गराउनु पर्नेमा उक्त कार्य सम्झौता बमोजिम नगरी नगराई अस्वभाविक रूपमा बढी लागत अनुमान ५० करोड ३४ लाख ४० हजार ६९६ तयार गरी गराई सार्वजनिक सँस्था नेपाल नागरिक उड्डयन प्राधिकरणको सम्पत्तिबाट अतिरिक्त तथा दोहोरो बजेट खर्च गराई सो सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गर्ने उद्देश्यले प्राधिकरणको बार्षिक बजेट तथा कार्यक्रम स्वीकृत नभएकै अवस्थामा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ६ को उपनियम (१), नियम ४० को उपनियम (२क), नियम ७० को उपनियम (२) र विमानस्थल निर्माणको खरिद सम्झौता विपरीत हुनेगरी राष्ट्रियस्तरको मात्र प्रतिस्पर्धा गराई परामर्श सेवा खरिद प्रक्रिया अगाडि बढाई सोको निरन्तरता स्वरूप परामर्शदाता ERMC/A-not/Slate JV सँग ७ मे २०१८ (मिति २०७५/०१/२४) मा रू.४२,८९,३६,७००।–(मू.अ.कर समेत) सम्झौता रकम कायम गरी खरिद सम्झौता गरे गराएको देखिएको छ’ अख्तियारले भनेकाे छ ।


प्रतिक्रिया