ग्लोबल आइएमई बैंक र तिलगंगा अस्पातालबीच सहकार्य, मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गरिने
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबीच सहकार्य भएको छ। यो सहकार्यले आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरूको आँखाको स्वास्थ्यमा राहत पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइटले उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भयो। उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले हस्ताक्षर गरे ।
ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा तिलगंगा आँखा प्रतिष्ठानले सातै प्रदेशका सात स्थानमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्नेछ। यस अभियान विशेषगरी आर्थिक रूपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न समुदायलाई लक्षित गरिएको छ।
यसका साथै, विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूको आँखा परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क चस्मा वितरण गर्ने कार्यक्रम पनि सञ्चालन गरिनेछ, जसले बालबालिकाको शैक्षिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकले स्थापनाकालदेखि नै नाफाको एक हिस्सा समाजमा फिर्ता गर्ने परम्परालाई निरन्तरता दिँदै आएको उल्लेख गरे । उनले सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू देशभर समान रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै, डा रुइटले बैंकसँगको सहकार्यलाई दीर्घकालीन र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै पारदर्शिता र गुणस्तरीय सेवामा आफूहरू सधैं प्रतिबद्ध रहने बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले प्रतिष्ठित संस्थासँगको सहकार्यले सामाजिक कार्यक्रमलाई थप ऊर्जा मिलेको उल्लेख गर्दै आगामी दिनमा यस्ता पहललाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिए।
ग्लोबल आइएमई बैंकले देशभर फैलिएको आफ्नो सञ्जालमार्फत शिक्षा, स्वास्थ्य, वातावरण तथा मानवीय सहयोगका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। त्यस्तै, सन् १९९२ मा स्थापना भएको तिलगंगा आँखा प्रतिष्ठानले नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै गुणस्तरीय आँखा स्वास्थ्य सेवा, अनुसन्धान तथा शिक्षामा महत्वपूर्ण योगदान दिँदै आएको छ। यस सहकार्यले देशका हजारौं नागरिकको दृष्टि सुरक्षित गर्ने र उनीहरूको जीवनस्तर सुधार गर्ने विश्वास गरिएको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया