काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निजामती सेवामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, आबद्धता वा समर्थन नरहेको स्पष्ट पारेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी द्वारा जारी विज्ञप्तिमा रास्वपाले सुरुदेखि नै सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउने नीति लिएको उल्लेख गरिएको छ।
हालै सम्पन्न आम निर्वाचनमा पनि निजामती सेवाको सुदृढीकरणप्रति प्रतिबद्धता जनाइएको भन्दै विज्ञप्तिमा पछिल्लो समय विभिन्न समूह वा अभियानमार्फत पार्टी र नेतृत्वको नाम जोडेर भ्रम फैलाउने प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
रास्वपाले यस्ता कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो कुनै सम्बन्ध, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको छ। साथै कर्मचारीहरूको मूल कर्तव्य जनसेवा र पहिचान व्यावसायिकता हुनुपर्ने भन्दै कुनै पनि राजनीतिक प्रभावमा नपर्न आग्रह गरेको छ।
पार्टीले प्रशासनलाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै कर्मचारीहरू राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने धारणा दोहोर्याएको छ।
रास्वपाले दलीय प्रभाव, डर–त्रास र शक्ति केन्द्रको आडमा काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनसेवामा समर्पित हुन अपिल गरेको छ।
प्रतिक्रिया