NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ विदेशमन्त्रीको बधाई

काठमाडौँ – चीनका विदेशमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन्।

मन्त्री खनाललाई शुक्रबार बधाई सन्देश पठाउँदै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल र चीन परम्परागत मैत्रीपूर्ण छिमेकी राष्ट्र भएको उल्लेख गर्दै सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देश सुख–दुःखमा सँगसँगै उभिँदै आएको बताएका छन्।

विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्ध शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका आधारमा निरन्तर विकास हुँदै आएको पनि उल्लेख गरेका छन्।

चिनियाँ परराष्ट्रमन्त्रीले दुवै पक्षबीच भएका महत्वपूर्ण सहमतिहरू कार्यान्वयन गर्न तथा विकास र समृद्धिका लागि दीर्घकालीन मैत्रीमा आधारित चीन–नेपाल रणनीतिक सहकार्य साझेदारीलाई थप उचाइमा पुर्‍याउन मन्त्री खनालसँग सहकार्य गर्न चीन तयार रहेको सन्देशमा उल्लेख गरेका छन्।