NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

काठमाडौं — सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आशंकापछि नेपालमा उच्च राजनीतिक तहका व्यक्तिहरूमाथि अनुसन्धान तीव्र बनाइएको छ। तीन पूर्वप्रधानमन्त्री—शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालसहित दुई पूर्वमन्त्री र उनीहरूका परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाइएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा नेपाल प्रहरीले उनीहरूको नाममा रहेका चल–अचल सम्पत्ति, आम्दानीका स्रोत तथा वित्तीय कारोबारबारे छानबिन सुरु गरेको जनाएको छ। अनुसन्धानको दायरामा पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का पनि परेका छन्। साथै, आरजु राणाका भाइ भुषण राणामाथि समेत अनुसन्धान भइरहेको छ।

यसैक्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई बुढानीलकण्ठस्थित आफ्नै निवासबाट पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विभागको निर्देशनअनुसार उनलाई नियन्त्रणमा लिएको हो। उनलाई जरुरी पक्राउ पुर्जी थमाएर हिरासतमा राखिएको छ र आजै जिल्ला अदालतबाट म्याद थप गराउने तयारी गरिएको जनाइएको छ।

गत २४ भदौमा भएको आगजनी घटनापछि अनुसन्धानले नयाँ मोड लिएको थियो। उक्त घटनाका क्रममा देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेपछि उनीहरूमाथि शंकाको घेरा बढेको हो। प्रारम्भिक अनुसन्धानमा कैफियत देखिएपछि विभागले विस्तृत छानबिनका लागि सीआईबीलाई जिम्मा दिएको बताइएको छ।