NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

मुगुको सोरुमा परम्परागत घरको अस्तित्व कायमै

मुगु — आधुनिकताको प्रभाव गाउँ–गाउँसम्म फैलिँदै जाँदा पनि मुगुको सोरु क्षेत्रका विभिन्न बस्तीहरूमा भने परम्परागत घरहरूको पहिचान अझै जोगिइरहेको छ। यहाँका स्थानीय बासिन्दाले पुस्तौँदेखि अपनाउँदै आएको ढुंगा, माटो र काठबाट बनेका घरहरू अहिले पनि प्रयोगमा छन्।

सोरु गाउँपालिकाका अधिकांश बस्तीहरूमा यस्ता घरहरू देख्न सकिन्छ, जसले गर्मी र जाडो मौसम सँग जुझ्ने उपयुक्त यस्ता घरहरू जाडो मौसममा न्यानो हुने र गर्मी मौसममा सितल हुने बिशेसता रहेको पाईन्छ भने अर्कोतिर निर्माण सामग्री सजिलै उपलब्ध हुने र कम खर्चिलो हुने भएकाले स्थानीयले अझै पनि यसलाई प्राथमिकता दिँदै आएका छन्।

स्थानीय बासिका अनुसार ‘नयाँ पक्की घर बनाउन खर्च धेरै लाग्छ, तर हाम्रो परम्परागत घर सस्तो, बलियो र वातावरणमैत्री हुन्छन् , यस्ता घरले भूकम्पको समयमा पनि लचकता देखाउने भएकाले सुरक्षित हुने विश्वास छ।’

तर पछिल्लो समय युवा पुस्ता रोजगारी र शिक्षाका लागि बाहिरिने क्रम बढेसँगै परम्परागत सीप हराउँदै जाने चिन्ता पनि बढेको छ। नयाँ पुस्ताले आधुनिक शैलीका पक्की घरप्रति आकर्षण देखाउन थालेपछि यस्ता घरको निरन्तरतामा चुनौती देखिएको हो।

स्थानीय तहले भने परम्परागत संरचना संरक्षण र प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता देखिएको छ। स्थानिय पर्यटन ब्यबसायीका अनुसार यस्ता घरहरू केवल आवास मात्र नभई सांस्कृतिक सम्पदा एवं पर्यटकिय दृष्टिकोण बाट पनि यसको महत्व धेरै भएकाले संरक्षण गर्नु आवश्यक छ।

सोरुका बस्तीमा अझै पनि ठडिएका यी परम्परागत घरहरूले मुगुको मौलिकता र परम्परागत अस्थित्व र पहिचानलाई जोगाईराखेका छन् ।