NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रधानमन्त्री बालेनले दिए नयाँ वर्षको शुभकामना

काठमाडौँ  – नयाँ वर्ष २०८३ को अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवन सुखमय रहोस् भन्ने कामना गरेका हुन्।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा संस्कृत श्लोक ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥’ उद्धृत गर्दै संसारका सम्पूर्ण प्राणीहरूको सुख, स्वास्थ्य र कल्याणको कामना गरेका छन्। उनले भनेका छन्, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।”

उनले नयाँ वर्षले नेपाली समाजमा सकारात्मक ऊर्जा, आपसी सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्। साथै, समृद्ध नेपाल निर्माणका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उनले जोड दिएका छन्।

प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमार्फत विश्वभर रहेका नेपालीहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्।