विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले आज विज्ञप्ति जारी गरी विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक मूल्य-मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति रहेको बताए।
नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उनको भनाइ छ ।
नेता खड्काले विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताए । वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ ।
विद्यार्थी संगठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसंगति विरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गरेका छन् । नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङगठनहरूको गरिमा कायम राख्न आग्रह गरे । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने उनले चेतावनी दिए ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया