मापदण्ड नपुगेका छात्रावास बन्द गर्ने तयारीमा काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूनतम मापदण्डसमेत पूरा नगरेका तथा सुधार सम्भावना नभएका छात्रावास बन्द गर्ने तयारी गरेको छ । छात्रावासको गुणस्तर, सुरक्षा, स्वच्छता तथा सामाजिक वातावरण सुदृढ बनाउन महानगरले पाँच वटा अनुगमन टोली परिचालन गरी निरीक्षण सुरु गरेको जनाएको छ ।
महानगर शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार सञ्चालनका लागि आवश्यक आधारभूत स्तरसमेत नभएका छात्रावास पहिचान गरी आवश्यक कारबाही गरिनेछ । हाल महानगर क्षेत्रका विभिन्न छात्रावासमा करिब ४० हजार व्यक्तिले सेवा लिइरहेको अनुमान गरिएको छ ।
उनले ठूलो संख्यामा विद्यार्थी तथा सेवाग्राही बसोबास गर्ने यस्ता स्थानमा मापदण्ड पालनाको अवस्था, सुरक्षा व्यवस्था, सेवा गुणस्तर तथा सञ्चालन प्रणाली परीक्षण गर्न अनुगमन सुरु गरिएको बताए । मापदण्ड पूरा गर्ने संस्थालाई दर्ता तथा नियमित सञ्चालन प्रक्रियामा ल्याइने, सुधार गर्न सकिने संस्थालाई समय दिएर सुधार गराइने र अयोग्यलाई बन्द गरिने नीति लिइएको छ ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले अनुगमन टोलीलाई एउटै स्थानमा पटक–पटक जानुपर्ने अवस्था नआउने गरी समन्वित ढंगले काम गर्न निर्देशन दिएकी छन् । उनले सबै सूचकका आधारमा वस्तुगत निष्कर्षसहित प्रतिवेदन तयार गर्न आग्रह गरेकी छन् ।
महानगरका अनुसार विभिन्न वडामा रहेका छात्रावास अनुगमनका लागि शिक्षा अधिकृतहरूको नेतृत्वमा पाँच टोली गठन गरिएको छ । ती टोलीहरूले वडा नं. १, ३, ४, ६, ९, १०, १६, १८, २८, २९, ३०, ३१ र ३२ लगायत क्षेत्रमा रहेका छात्रावासको निरीक्षण गर्नेछन् ।
महानगरले जारी गरेको ‘छात्रावास सञ्चालन मापदण्ड, २०८०’ अनुसार होस्टेल सञ्चालकलाई नियम कार्यान्वयनमा प्रोत्साहित गर्ने, विद्यार्थीलाई सुरक्षित तथा गुणस्तरीय सुविधा उपलब्ध गराउने र सामाजिक वातावरण सन्तुलित बनाउने उद्देश्यले अनुगमन अभियान अघि बढाइएको ढकालले बताए ।
अनुगमनपछि हाल सञ्चालनमा रहेका तर दर्ता नभएका र मापदण्ड पूरा गरेका छात्रावासलाई दर्ता अनुमति प्रदान गरिने जनाइएको छ ।
मापदण्डअनुसार छात्रावासमा शौचालय, भान्साघर, स्वच्छ खानेपानी, विद्युत् आपूर्ति, प्रत्येक विद्यार्थीका लागि पलङ, दराज र अध्ययन टेबलको व्यवस्था हुनुपर्नेछ । साथै फोहोर व्यवस्थापन, नियमित सरसफाइ, पर्याप्त प्रकाशयुक्त खुला कोठा तथा कोठा र शौचालयबाहेक अन्य स्थानमा सिसिटिभी निगरानी प्रणाली अनिवार्य गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया