म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन
म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाका अग्ला र जोखिमपूर्ण भीरबाट शिकारीले मह निकाल्न थालेका हुन् ।
धवलागिरि गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाको १५ जनाको टोलीले शुक्रबारदेखि खोरीया नजिकैको भीरबाट मह निकाल्न सुरु गरेको छ । पहिलो दिन दुईवटा घारबाट करिब ७० लिटर मह निकालिएको पाइजाले जानकारी दिए । “अहिले बेँसीका भीरबाट सुरु गरेका छौँ, यो क्रम असारसम्म लेकका पहाडहरूमा पुगेर टुङ्गिन्छ,” उनले भने ।
भिरमह निकाल्ने प्रक्रिया अत्यन्तै साहसिक र चुनौतीपूर्ण मानिन्छ । स्थानीय भाषामा ‘परङ’ भनिने डोरीको भर्याङमा झुन्डिएर ज्यानको बाजी लगाउँदै शिकारीहरू मौरीको गोलासम्म पुग्ने गर्छन् । मह निकाल्नुअघि धुवाँ लगाएर मौरी भगाउने गरिन्छ । मुख्य शिकारीले भीरको बीचमा झुन्डिएर निकालेको महलाई डोरीकै सहायताले भुइँसम्म पुर्याइन्छ ।
वसन्त र शरद ऋतुलाई मह सिकारका लागि उपयुक्त समय मानिन्छ । अहिले निकालिएको मह प्रतिलिटर ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको शिकारीहरू बताउँछन् । औषधीय गुण हुने र धार्मिक कार्यमा समेत प्रयोग गरिने भएकाले भिरमहको माग उच्च छ ।
दुर्गमका यी भीरमा हुने मह सिकारलाई पछिल्लो समय पर्यटकीय आकर्षणका रूपमा समेत हेर्न थालिएको छ । स्थानीय शिकारीले वर्षौँदेखि पुर्खाले अपनाउँदै आएको परम्परागत सीप र प्रविधिको प्रयोग गरी मह निकाल्दै आएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया