स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा कतारले रच्यो इतिहास
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को प्रतिस्पर्धामा कतारले स्विट्जरल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै १–१ गोलको बराबरी नतिजा निकालेको छ। खेलको अन्तिम समयमा गरेको गोलको मद्दतले कतारले विश्वकप इतिहासमा पहिलो पटक अङ्क बटुल्न सफल भएको हो।
सन फ्रान्सिस्को बे एरियास्थित रङ्गशालामा सम्पन्न खेलमा स्विट्जरल्यान्डले सुरुआती अग्रता बनाएको थियो। खेलको १७औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले गोलमा परिणत गर्दै आफ्नो टोलीलाई अगाडि बढाएका थिए। कतारी गोलरक्षक महमुद अबुनादाबाट भएको फउलपछि पेनाल्टी दिइएको थियो, जसलाई भिडियो सहायक रेफ्रीमार्फत पुनः परीक्षण गरिएपछि सदर गरिएको थियो।
अग्रता पाएपछि स्विट्जरल्यान्डले खेलभर आक्रामक दबाब कायम राख्यो र थप गोलका अवसरहरू सिर्जना गर्यो। तर कतारी गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण स्विस टोलीले स्कोर अन्तर बढाउन सकेन।
पूरै खेलमा एक गोलले पछाडि परेको कतारले इन्जुरी समयको चौथो मिनेटमा खेलमा फर्किने अवसर पायो। डिफेन्डर बुआलेम खुखीले निर्णायक गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए र आफ्नो टोलीलाई हारबाट जोगाए।
यो नतिजासँगै कतारले विश्वकप प्रतियोगिताको इतिहासमा पहिलो पटक अङ्क जोड्ने उपलब्धि हासिल गरेको छ। यसअघि सन् २०२२ मा आयोजक राष्ट्रका रूपमा विश्वकप खेलेको कतारले कुनै पनि अङ्क प्राप्त गर्न सकेको थिएन। अन्तिम क्षणसम्म संघर्षरत रहेको कतारका लागि यो बराबरी ऐतिहासिक सफलताका रूपमा लिइएको छ।
ताजा अपडेट
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट
-
विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
-
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह


प्रतिक्रिया