NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको आधिकारिक पुष्टि भएसँगै एसिया-प्रशान्त (एसिया-प्यासिफिक) क्षेत्रका सेयर बजारमा तीव्र उछाल आएको छ । लामो समयदेखि जारी तनाव अन्त्य हुने भएपछि लगानीकर्ता उत्साहित बन्दा सोमबार बिहानैदेखि सेयर सूचकहरू ह्वात्तै बढेका हुन् ।

सोमबार बिहानको कारोबारमा जापानको प्रमुख सेयर सूचक ‘निक्केई २२५’ ५ प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको ‘कोस्पी’ ५.७ प्रतिशतले उकालो लागेको छ । यस्तै, ताइवानको ‘ताइएक्स’ २.७ प्रतिशत र अस्ट्रेलियाको ‘एएसएक्स २००’ करिब १.५ प्रतिशतले बढेको छ । अमेरिकी बजारको नियमित कारोबार बन्द रहे पनि ‘फ्युचर्स’ कारोबारमा एसएन्डपी ५०० १ प्रतिशत र प्रविधि केन्द्रित नास्डाक १.६ प्रतिशतले बढेका छन् ।

अर्कातर्फ, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउने क्रम जारी छ । सोमबार अन्तर्राष्ट्रिय बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य थप ४ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । एएनजेडका एसिया अनुसन्धान प्रमुख खुन गोहका अनुसार गत साता राष्ट्रपति ट्रम्पले सम्झौता नजिक पुगेको संकेत गर्दा नै बजारमा सकारात्मक प्रभाव देखिएको थियो भने अहिले आधिकारिक पुष्टि भएपछि बजारमा थप चमक आएको हो । तेलको मूल्य घट्दा विश्वभरका केन्द्रीय बैंकहरूलाई महँगी (मुद्रास्फीति) नियन्त्रण गर्न ठूलो राहत मिल्ने उनले बताए ।