NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १२ गते

सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा सभापतिपछिको सबैभन्दा महत्त्वपूर्ण मानिएको महामन्त्री पदका लागि पार्टीका शक्तिशाली नेताहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

केन्द्रीय सदस्यको चुनावी नतिजा सार्वजनिक हुने क्रम जारी रहेकै बेला पदाधिकारी चयनका लागि उम्मेदवारी घोषणा गर्ने होडबाजी सुरु भएको हो।

खुला केन्द्रीय सदस्यतर्फको पूर्ण नतिजा आइनसके पनि विजयी भइसकेका प्रभावशाली नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्ना उम्मेदवारी सार्वजनिक गरिरहेका छन्। अहिलेसम्म रास्वपाका ६ जना स्थापित नेताहरूले महामन्त्री पदमा दाबी प्रस्तुत गरिसकेका छन्।

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेहरूमा खुला केन्द्रीय सदस्यतर्फ तेस्रो धेरै मत ल्याएर विजयी भएका शिशिर खनाल र चौथो स्थानमा मत ल्याएका सागर ढकाल रहेका छन्।

यसैगरी, छैटौँ नम्बरमा विजयी भएकी रन्जु दर्शना, सातौँ नम्बरका मनिष झा, १० औं नम्बरका विपिन आचार्य र १९ औँ नम्बरमा मत ल्याएर केन्द्रीय सदस्य बनेका प्रमोद न्यौपानेले पनि महामन्त्री पदका लागि आफ्नो दरिलो उम्मेदवारी घोषणा गरेका छन्। पार्टीको महाधिवेशन र पदाधिकारी चयनको यो प्रक्रियाले रास्वपाभित्र आन्तरिक लोकतन्त्र र नेतृत्वको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।