NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १६ गते

राजनीतिक दलमा आबद्ध रहेकालाई रेडक्रसको पद छाड्न आग्रह

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाको सांगठानिक सुधार र तटस्थता कायम राख्न सक्रिय राजनीतिमा रहेका व्यक्तिहरूलाई रेडक्रसका पदहरूबाट अलग हुन आग्रह गरेको छ ।

रेडक्रसको मूल्य, मान्यता र सिद्धान्तविपरीत राजनीतिक प्रभाव बढ्दै गएको गुनासोबीच रेडक्रसले एक अपिलमार्फत् यो अनुरोध गरेको हो ।

रेडक्रस केन्द्रीय कार्यालयद्वारा जारी अपिलमा राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न तहमा पदाधिकारी वा सदस्य रहेका व्यक्तिहरूलाई रेडक्रसको कुनै पनि समिति, आयोग वा उपसमितिमा नरहन आग्रह गरिएको छ ।

आईएफआरसीले समेत राजनीतिक हस्तक्षेपका कारण प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएको स्मरण गर्दै नेपाल रेडक्रसले विधानमै संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।

रेडक्रसको संशोधित विधानमा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक सङ्गठन भ्रातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन् ।’ उल्लेख छ ।

विधानको यो व्यवस्थालाई पालना नगर्ने र दोहोरो भूमिकामा रहनेलाई ‘नकारात्मक सूची’ मा राखेर कारबाही गरिने रेडक्रसका अधिकारीले बताएका छन् ।

यदि नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी वा सदस्य कुनै दल वा भ्रातृ संगठनको पदमा रहेको भए तथ्यसहित जानकारी गराउन पनि सर्वसाधारणमा आव्हान गरिएको छ ।

डा. विशालकुमार भण्डारी नेतृत्वको नवगठित तदर्थ समितिले रेडक्रस सुधारको अभियानअन्तर्गत संस्थालाई राजनीतिक दलहरूको प्रभावबाट मुक्त बनाउन चालिएको यस कदमले संस्थाको छवि सुधार्ने र अन्तर्राष्ट्रिय जगतमा यसको विश्वसनीयता कायम राख्ने विश्वास रेडक्रसकर्मीले गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष