NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १६ गते

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, पेट्रोल २० , डिजेल ३० रुपैयाँ र एलपी ग्यास पनि १०० रुपैयाँ घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ।

निगम सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार बुधबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ मूल्य घटाइएको हो। त्यसैगरी, खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ कायम भएको छ। डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ तोकिएको छ भने आन्तरिक हवाई इन्धन प्रतिलिटर २२९ रुपैयाँमा बिक्री हुनेछ।

एलपी ग्यासको १४.२ किलोग्राम क्षमताको सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो। आईओसीबाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलको खरिद मूल्य प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलको २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनको २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य पनि घटेर आएको थियो।

यही आधारमा निगमले पेट्रोलमा २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको जनाएको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ। पोखरा र भैरहवाका लागि भने ‘ब्रेकइभेन’ मूल्य कायम गरिएको निगमले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष