NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार २२ गते

गाउँपालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तासहित परिवारका सदस्यहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ।

आयोगका अनुसार अध्यक्ष गुप्ताले २०७४ असार २० देखि २०७९ असार २८ सम्मको कार्यकाललाई अनुसन्धान अवधिका रूपमा लिई गरिएको छानबिनमा उनी र एकाघर परिवारका सदस्यहरूको आम्दानी र खर्चबीच उल्लेखनीय असन्तुलन देखिएको निष्कर्ष निकालिएको हो।

अनुसन्धान प्रतिवेदनअनुसार सो अवधिमा गुप्ता तथा परिवारको वैध आय विभिन्न स्रोतबाट गरी कुल ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ ८८ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, बैंक ऋण भुक्तानी, अध्ययन खर्च, सेयर तथा बीमा, कम्पनी लगानी र सवारी साधन खरिदलगायतमा गरी कुल ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ ७३ पैसा खर्च तथा लगानी भएको विवरण भेटिएको आयोगले जनाएको छ।

आय र व्ययबीचको अन्तर विश्लेषण गर्दा ३ करोड ४५ लाख ९९ हजार १६७ रुपैयाँ ८४ पैसाको स्रोत पुष्टि हुन नसकेको आयोगको दाबी छ। उक्त रकम गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको रूपमा रहेको निष्कर्ष निकाल्दै आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा दायर गरेको हो।

आयोगले गुप्तासँगै उनकी आमा, बुबा तथा दुई श्रीमतीलाई पनि प्रतिवादी बनाएको छ। उनीहरूलाई गैरकानुनी सम्पत्ति जफतको प्रयोजनका लागि मात्र मुद्दामा समावेश गरिएको आयोगको भनाइ छ।

अख्तियारले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा अध्यक्ष गुप्तामाथि स्रोत नखुलेको सम्पत्ति आर्जन, पदको दुरुपयोग तथा झुट्टा सम्पत्ति विवरण पेस गरेको आरोपसमेत उल्लेख गरिएको छ। सोही आधारमा कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको मागदाबी गरिएको आयोगले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष