टेरामक्स खरिद प्रकरण : प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित तीन जना दोषी ठहर
काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ ।
न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले प्राधिकरणका तत्कालीन अध्यक्ष झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिए।
दोषी ठहर भएका तीनै जनालाई ६ महिना कैद र रु ५० हजार जरिवाना हुने फैसला भएको छ । झाको हकमा थप ६ महिना कैद सजाय समेत तोकिएको छ ।
उक्त टेरामक्स खरिद प्रकरणमा १९ जना प्रतिवादी रहेकामा तीन जनालाई दोषी ठहर गर्दै बाँकी १७ जनाले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा पूर्वसञ्चारमन्त्री एवम् नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत पनि रहेका छन् ।
त्यस्तै, अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशकहरू दिपेश आचार्य, अच्युतानन्द मिश्र र सुरेन्द्रलाल हाडालाई पनि सफाइ दिएको छ ।
प्राधिकरणका उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्य तथा कर्मचारी विजयकुमार रायले पनि सफाइ पाएका छन् ।
त्यसैगरी, भ्यानराइस एसएएल (अफसोर) नामक आपूर्तिकर्ता, त्यसका प्रमुख कार्यकारी अधिकृत जमल अनोटी, स्थानीय एजेन्ट ट्रेडलिङ्क प्रालि तथा अध्यक्ष दिलीपकुमार गुरुङलाई समेत सफाइ दिइएको छ।


प्रतिक्रिया