फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
काठमाडौं । फिफा विश्वकप-२०२६ को उपाधिका लागि आज साविक विजेता अर्जेन्टिना र सन् २०१० को विश्वविजेता स्पेन आमनेसामने हुँदैछन् । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फाइनल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
अर्जेन्टिना लगातार दोस्रो तथा समग्रमा चौथो विश्वकप उपाधिको खोजीमा छ । यदि लियोनेल स्कालोनीको टोलीले उपाधि जित्न सफल भए, ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार विश्वकप जितेपछि लगातार दुई संस्करणको विश्वकप जित्ने पहिलो पुरुष टोली बन्नेछ । यसअघि इटालीले १९३४ र १९३८ मा लगातार उपाधि जितेको थियो ।
अर्जेन्टिनाको सफल यात्रामा कप्तान लियोनेल मेस्सी फेरि एकपटक मुख्य आकर्षण बनेका छन् । ३९ वर्षीय मेस्सीले सात खेलमा आठ गोल गर्दै चार असिस्ट दिएका छन् । सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध २-१ को पुनरागमन जितमा उनले दुई असिस्ट गर्दै टोलीलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
मेस्सी हाल आठ गोल र चार असिस्टसहित गोल्डेन बुटको दौडको दोस्रो स्थानमा रहेका छन् । फ्रान्सका किलियन एम्बाप्पेले पनि दस गोल गोलसहित शीर्ष स्थानमा रहेका छन् ।
अर्जेन्टिनाले यस विश्वकपमा हालसम्म सबै खेल जितेको छ । समूह चरण सहज रूपमा पार गरेको अर्जेन्टिनाले नकआउट चरणमा भने केप भर्डे, इजिप्ट, स्विट्जरल्यान्ड र इंग्ल्याण्डलाई कठिन प्रतिस्पर्धापछि पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
यता, प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन प्रतियोगिताको सबैभन्दा सन्तुलित टोलीका रूपमा देखिएको छ । सात खेलमा बेल्जियमविरुद्ध मात्र एक गोल बेहोरेको स्पेनको रक्षापंक्ति निकै बलियो देखिएको छ ।
स्पेनले पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि साउदी अरेबियालाई ४-०, उरुग्वेलाई १-० ले हराउँदै समूह विजेताका रूपमा अघि बढेको थियो । त्यसपछि राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३-०, अन्तिम १६ मा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई १-०, क्वाटरफाइनलमा बेल्जियमलाई २-१ तथा सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
स्पेनका लागि मिकेल ओयार्जाबालले पाँच गोल गर्दै टोलीका सर्वाधिक गोलकर्ता बनेका छन् भने १९ वर्षीय स्टार लामिन यामालले एक गोल गरे पनि आफ्नो प्रभावशाली प्रदर्शनबाट सबैको ध्यान तानेका छन् ।
फाइनलले अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक लियोनेल मेस्सी र लामिन यामाललाई आमनेसामने उभ्याउनेछ । साथै, वर्तमान दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र वर्तमान युरोपियन च्याम्पियन स्पेनबीचको यो भिडन्तलाई विश्व फुटबलको सबैभन्दा ठूलो प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया