प्रधानमन्त्री शाहले पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग आज छलफल गर्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो १२ बजे पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने बैठकमा पुँजी बजार र बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्स्चेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान सहभागी हुनेछन्।
त्यस्तै, नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख नवराज सिलवाल र नागरिक स्टक डिलर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महेश्वर लाल श्रेष्ठ पनि बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ।
यसैगरी, प्रिया राज रेग्मी र अम्बिका प्रसाद पौडेलसमेत छलफलमा सहभागी हुने बताइएको छ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका पहलहरू र समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग विस्तृत छलफल गरिनेछ।


प्रतिक्रिया