NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

क्यानडामाथि ५० प्रतिशत भन्सार लगाउने ट्रम्पको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। अमेरिकी सवारीसाधन, दुग्धजन्य उत्पादन र मदिरामाथि क्यानडाले गरेको ‘असमान व्यवहार’ को प्रतिकारस्वरूप यो निर्णय गरिएको ट्रम्प प्रशासनले जनाएको छ।

ह्वाइट हाउसका अनुसार नयाँ भन्सार ३० दिनपछि लागू हुनेछ। यसले उत्तर अमेरिकी दुई छिमेकी राष्ट्रबीचको व्यापारिक तनावलाई थप चर्काउने अपेक्षा गरिएको छ।

नयाँ भन्सारअन्तर्गत वाइन, हकी स्टिक र सिमेन्टलगायतका वस्तु पर्नेछन्। तर ऊर्जा, पोटास, महत्वपूर्ण खनिज तथा माछाजस्ता प्रमुख क्यानडाली निर्यात वस्तुलाई भने छुट दिइएको छ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही साताभित्र थप तीव्र बनाउने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले अमेरिकाको पछिल्लो कदमलाई क्यानडा–अमेरिका–मेक्सिको स्वतन्त्र व्यापार सम्झौताको भावना विपरीत भएको टिप्पणी गरेका छन्।

कार्नीले क्यानडाको सार्वभौमिकतामाथि चुनौती दिइएको पनि उल्लेख गरेका छन्। यसलाई ट्रम्पले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनुपर्ने अभिव्यक्तिसँग जोडेर हेरिएको छ।

यसअघि अमेरिकाले क्यानडाली इस्पात, आल्मुनियम र तामामा १५ देखि ५० प्रतिशतसम्म भन्सार लगाउँदै आएको छ। साथै, सफ्टवुड काठमा ३५ प्रतिशत तथा अमेरिकी मूलका नभएका सवारीसाधनका पार्टपुर्जामा २५ प्रतिशत कर कायम छ। त्यसको जवाफमा क्यानडाले पनि अमेरिकी इस्पात, आल्मुनियम र केही सवारीसाधनमा २५ प्रतिशत प्रतिशोधात्मक भन्सार लगाएको छ।

ट्रम्पले केही दिनअघि क्यानडाबाट फैलिएको डढेलोको धुवाँ अमेरिकी सहरसम्म पुगेको विषयलाई पनि भन्सारसँग जोडेर चेतावनी दिएका थिए। तर सोमबार हस्ताक्षर गरिएका कार्यकारी आदेशमा डढेलोको विषय उल्लेख गरिएको छैन।

बरु आदेशमा अमेरिकी सवारीसाधन, दुग्धजन्य उत्पादन र मदिरासम्बन्धी व्यापारिक असन्तुष्टिलाई आधार बनाइएको छ। ट्रम्प प्रशासनले ग्क्ःऋब् अन्तर्गत नपर्ने अमेरिकी सवारीसाधन र पार्टपुर्जामा क्यानडाले लगाएको करलाई ‘अनुचित’ र ‘विभेदपूर्ण’ भएको दाबी गरेको छ।

दुग्ध क्षेत्रमा क्यानडाको आपूर्ति व्यवस्थापन प्रणाली पनि लामो समयदेखि अमेरिकाको असन्तुष्टिको विषय रहँदै आएको छ। यस प्रणालीले आयातको सीमा तोकेको छ भने सीमा नाघ्ने उत्पादनमा ३०० प्रतिशतभन्दा बढी भन्सार लाग्ने व्यवस्था छ।

गत वर्षदेखि अधिकांश क्यानडाली प्रान्तहरूले अमेरिकी मदिराको बिक्रीमा लगाएको बहिष्कार पनि दुई देशबीचको विवादको अर्को प्रमुख कारण बनेको छ। क्यानडाली प्रान्तीय सरकारहरूले अमेरिका धातु र अटोमोबाइल क्षेत्रमा लगाइएका भन्सार हटाएपछि मात्रै उक्त बहिष्कार अन्त्य गर्ने बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष