NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ११ गते

नागढुंगा सुरुङमार्ग सञ्चालनमा, परीक्षणपछि सबै सवारीलाई अनुमति

काठमाडौं। बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार आयोजित कार्यक्रममा पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल र नेपालका लागि जापानी राजदूतले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरे।

काठमाडौं उपत्यकाको मुख्य प्रवेश नाका नागढुंगाको दशकौं पुरानो ट्राफिक जाम हटाउने लक्ष्यसहित निर्माण गरिएको सुरुङमार्ग सर्वसाधारणका लागि भने तत्काल पूर्ण रूपमा खुला गरिने छैन। सडक विभागका अनुसार केही दिन सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन र आकस्मिक उद्धार क्षमताको परीक्षण गरिनेछ। परीक्षण अवधिभर सुरुङ प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने विभागले जनाएको छ।

विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार उद्घाटनपछि पहिलो चरणमा आगलागी, दुर्घटना तथा अन्य विपद्को पूर्वतयारीका लागि ‘मक ड्रिल’ गरिनेछ। त्यसपछि करिब एक सातासम्म सीमित रूपमा सवारी सञ्चालन गरी जेट फ्यान, भेन्टिलेसन, वायु उत्सर्जन तथा अन्य सुरक्षा प्रणालीको परीक्षण हुनेछ। सबै परीक्षण सफल भएपछि करिब एक महिनाभित्र सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने तयारी छ।

कुल २ हजार ६ सय ८८ मिटर लामो मुख्य सुरुङमार्ग र २ हजार ५ सय ५७ मिटर लामो उद्धार सुरुङ निर्माण गरिएको छ। मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार सुरुङ आकस्मिक अवस्थामा प्रयोग गरिनेछ। दुवै सुरुङ र क्रस–प्यासेजसहित कुल संरचनाको लम्बाइ करिब ५.५ किलोमिटर पुगेको छ। आयोजनाअन्तर्गत दुवैतर्फ करिब २.८ किलोमिटर पहुँच सडक पनि निर्माण गरिएको छ।

सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१ दहचोकको टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–९ सिस्नेखोलामा निस्कन्छ। सञ्चालनमा आएपछि नागढुंगा–नौबिसे सडकखण्डको जाम कम हुने, घुमाउरो उकालो सडकको विकल्प उपलब्ध हुने र यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ।

सुरुङमार्गमा दमकल, आकस्मिक उद्धार प्रणाली, सिसिटिभी निगरानी, सञ्चार प्रणाली, भेन्टिलेसन, अक्सिजन आपूर्ति तथा अन्य सुरक्षा संयन्त्र जडान गरिएको छ। परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षासम्बन्धी सबै आवश्यक प्रणाली राखिएको छ।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा युसिन–एआरटी जेभीले पाँच वर्षका लागि पाएको छ। कम्पनीले सुरुङ सञ्चालन, मर्मतसम्भार, ट्राफिक व्यवस्थापन, आकस्मिक उद्धार, टोल संकलन तथा पहुँच सडकको नियमित रेखदेख गर्नेछ। चौबीसै घण्टा सञ्चालन हुने सुरुङमा करिब १५० कर्मचारी विभिन्न सिफ्टमा खटिनेछन्।

सुरुङमार्गमा पूर्ण रूपमा डिजिटल टोल प्रणाली लागू हुनेछ। एन–ट्याग र आरएफआईडी प्रविधिबाट शुल्क असुल गरिनेछ। प्रयोगकर्ताले बैंकमार्फत एन–ट्याग लिएपछि खाताबाट स्वचालित रूपमा शुल्क कट्ने व्यवस्था गरिएको छ। एक–दुई पटक मात्र सुरुङ प्रयोग गर्ने सवारीका लागि क्यूआर कोड र फोन–पेमार्फत पनि भुक्तानी गर्न सकिनेछ। दैनिक उठेको टोल रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ।

सरकारले कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ टोल तोकेको छ। मिनीबस, ट्रक तथा टिपरका लागि क्रमशः ११५ र ८० रुपैयाँ तथा ठूला बस र ट्रकका लागि २६० र २०० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। हेभी ट्रक तथा लरीले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्नेछ।

सुरुङमार्ग सञ्चालन निर्देशिकाअनुसार पैदलयात्री, साइकल, मोटरसाइकल, तीनपाङ्ग्रे तथा अन्य गैर–मोटरयुक्त सवारीलाई प्रवेश अनुमति हुनेछैन। डिजेल, पेट्रोल, ग्यासजस्ता अत्यधिक प्रज्वलनशील पदार्थ वा विस्फोटक सामग्री बोकेका सवारीसाधनलाई पनि सुरुङमार्ग प्रयोग गर्न दिइने छैन।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण २०७६ कात्तिक ४ गते सुरु भएको थियो। ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, स्थानीय अवरोध र प्राविधिक चुनौतीका कारण आयोजना करिब ७९ महिनापछि सम्पन्न भएको हो। जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको आयोजना गत जेठमै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। सम्झौताअनुसार हस्तान्तरणपछि एक वर्षसम्म देखिने प्राविधिक समस्या निर्माण कम्पनीले आफ्नै खर्चमा मर्मत गर्नुपर्ने व्यवस्था छ।

आयोजनामा जापान सरकारको करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ। कुल लागत करिब २७ अर्ब ५० करोड रुपैयाँ पुगेको सडक विभागले जनाएको छ।

सरकारले सुरुङमार्ग सञ्चालनसँगै काठमाडौं–तराई आवागमनलाई सुरक्षित, छिटो र भरपर्दो बनाउने तथा नेपालको आधुनिक सडक पूर्वाधार विकासमा नयाँ अध्याय सुरु भएको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष