देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
काठमाडौं – सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सरकारले कोशी प्रदेशका प्रहरी प्रमुखसहित सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट फिर्ता बोलाएको छ।
सुनसरीका सीडीओ वासुदेव घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ। त्यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरीको जिम्मेवारी दिइएको छ।
यसैगरी, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए।
घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले एक साताभित्र प्रतिवेदन बुझाउने जनाइएको छ।
घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
ताजा अपडेट
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे


प्रतिक्रिया