नेपाल चिकित्सक संघद्वारा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा
काठमाण्डौ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण, अस्पतालमा भएको तोडफोड तथा त्यसपछिको घटनाक्रमप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कानुनबमोजिम कडा कारबाहीको माग गरेको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ।
विज्ञप्तिअनुसार घटनापछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला प्रहरी प्रमुखले प्रहरी परिचालन गरी नेपाल चिकित्सक संघका केन्द्रीय कार्यकारिणी समिति सदस्य, नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लगाइएको छ। संघले उक्त घटनाको घोर भर्त्सना गर्दै चिकित्सकहरूको मानमर्दन गर्ने कार्यमा संलग्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि पनि कारबाही गर्न माग गरेको छ।
संघका अनुसार आक्रमणका क्रममा चिकित्सक डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी पनि आक्रमणबाट प्रभावित भएका छन्।
राज्यबाट चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दमनको विरोधस्वरूप नेपाल चिकित्सक संघले साउन १२ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।
संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि सार्वजनिक गरिने जनाएको छ। साथै आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, पत्रकार तथा आम नागरिकलाई ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
संघले आन्दोलनका कारण बिरामीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारकै हुने उल्लेख गरेको छ।
ताजा अपडेट
-
एमबीएसको प्रश्नपत्र आउट गर्ने थप दुईजना पक्राउ
-
मुग्लिन–नारायणगढ सडकमा सुख्खा पहिरो, सडक दुईतर्फी अवरुद्ध
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो
-
अस्पतालमा सेवा अवरूद्ध नगर्न स्वास्थ्यकर्मीलाई मन्त्रालयको अपिल, दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको दाबी
-
मुस्ताङको शिन्तामणि संसारकै उत्कृट लक्जरी रिर्सोट


प्रतिक्रिया