NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १८ गते

निर्मल पुर्जाको स्मृतिमा अर्थपूर्ण काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही निर्मल पुर्जाको सम्मान र स्मृतिलाई दीर्घकालीन रूपमा जोगाउने उद्देश्यका साथ अर्थपूर्ण तथा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै मन्त्री पुनले राष्ट्रिय आविष्कार केन्द्रप्रति निर्मल पुर्जाले पुर्‍याएको सहयोग र योगदानको स्मरण गरेका छन्। उनले प्रतिनिधिसभा निर्वाचनको नतिजापछि पुर्जा राष्ट्रिय आविष्कार केन्द्रमै पुगेर बधाई दिँदै आफूलाई हस्ताक्षर गरिएको पुस्तक उपहार दिएको प्रसंग पनि साझा गरेका छन्।

मन्त्री पुनले उक्त हस्ताक्षरित पुस्तकको तस्बिरसहित श्रद्धाञ्जली व्यक्त गर्न तीन दिनदेखि खोजिरहेको भए पनि हालसम्म फेला नपरेको उल्लेख गरेका छन्। “आविष्कार केन्द्रका कुनै साथीले पढ्न लगेका वा कुनै शुभेच्छुकले लगेका हुन सक्छन्। कुनै न कुनै दिन भेटिएला भन्ने आशा छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।

निर्मल पुर्जाले राष्ट्रिय आविष्कार केन्द्रलाई विभिन्न समयमा निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै मन्त्री पुनले उनको स्मृतिमा सबैले सम्झिरहने खालको अर्थपूर्ण कार्य गर्ने प्रयास गर्ने बताएका छन्।

साथै, सोही हिमाल आरोहण दुर्घटनामा ज्यान गुमाएका अन्य पर्वतारोहीप्रति पनि मन्त्री पुनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष